दसैंको मुखमा ठाउँ-ठाउँमा पहिरो, त्रासैत्रासमा यात्रा
८ असोज, काठमाडौँ ।
दसैंका लागि घर जाने यात्रुको चाप बढ्दो छ । उपत्यकाका विभिन्न नाका हुँदै यात्रु बाहिरिरहेका छन् । केही दिनयता सवारी चाप उच्च हुने राजमार्ग र सडकमा पहिरो खसेर समस्या थपिएको छ । घर हिँडेका यात्रुको बास बीच सडकमै भएको छ । नागढुंगा–मुग्लिन सडकअन्तर्गत धादिङको जवाङ खोलानजिकै सोमबार राति ११ बजे सुख्खा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर १६ घण्टापछि मंगलबार दिउँसो दुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइयो, तर जोखिम हटेको छैन । सवारी चापले गर्दा जसोतसो सवारी साधन सञ्चालनमा ल्याउनेगरी मात्र पहिरो पन्छाइएको छ । नयाँ ठाउँमा पहिरो खसेर समस्या भएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए ।

‘नारायणगढ–मुग्लिन सडक अर्न्तगत तुइनखोलाको पहिरो पन्छाउन नपाउँदै मौवाखोलाबाट डेढ किलोमिटर धादिङतर्फको जवाङ खोलामा पहिरो खसेर समस्या भएको हो,’ उनले भने, ‘ठूलो चट्टानसहितको सुख्खा पहिरो खस्दा समयमै पन्छाउन समस्या भएको हो, पहिरो खस्ने जोखिम भने कायमै छ ।’ यता नागढुंगा–मलेखु खण्डमा पनि स-साना पहिरो खसे पनि यातायात सञ्चालनमा रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । ‘यो खण्डमा धेरै समस्या छैन,पहिरो खस्ने संभावित जोखिम क्षेत्रमा मेशिन र प्राविधिक जनशक्ति तैनाथ राखिएको छ,’ उनले भने, ‘स-साना पहिरो खसेको भए पनि समस्या छैन, दुईतर्फी यातायात सञ्चालनमा छ ।’ उनले दसैं सुरु भइसकेकाले उपत्यकाबाट बाहिरिने सवारी चाप बढेका कारण त्यही अनुसार सडक सहज बनाउने काम भइरहेको छ । यो सडक भएर दैनिक १५ हजार बढी सवारी साधन ओहोरदोहोर गर्छन् । यात्राको क्रममा ठाउँ –ठाउँमा पहिरो खस्दा यात्रु त्रासै त्रासमा यात्रा गर्न बाध्य छन् । दसैंका लागि घर हिँडेका यात्रु मंगलबारदेखि धादिङ र चितवनको विभिन्न स्थानमा अलपत्र अवस्थामा छन् । नारायणगढ–मुग्लिन सडकको तुइनखोला खण्डमा अझै पहिरो रोकथाम हुनसकेको छैन ।

पहिरो झरिरहने समस्याले गर्दा यातायात खुल्दै बन्द हुँदै गरिरहेको छ । शुक्रबार साँझ साढे ६ बजेदेखि बन्द रहेको उक्त खण्ड आइतबार एकतर्फी र सोमबार दुईतर्फी सञ्चालनमा आएको थियो । फेरि मंगलबार दिउँसो त्यही ठाउँमा ठूलो पहिरो खसेपछि यातायात ठप्प बनेको छ । सडक विभागका अनुसार बुधबार पहिरो पन्छाइसक्ने अवस्था छैन । जसले गर्दा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता प्रभातकुमार झाका अनुसार दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । तुइनखोलामा किन पहिरोको जोखिम बढिरहेको छ ? भन्ने प्रश्नमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सुभराज न्यौपाने भन्छन्, ‘मुग्लिनबाट नारायणगढतर्फ लाग्दै गर्दाको खण्डमा भौगोलिक बनावट निकै नै जटिल र अप्ठ्यारो छ ।’ उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको समस्या प्रत्येक वर्ष थपिँदै जानुको एउटा कारण २०७२ सालको भूकम्पको असर, अर्को कारण मुख्य सडकभन्दा माथि बस्ती जोड्न जथाभावी अव्यवस्थित रूपमा खनिएका सहायक सडक पर्छन् । गत वर्ष यही सडक खण्डमा पर्ने सिमलतालमा गुडिरहेका दुईवटा यात्रु बस बगाएको उदाहरण नै काफी छ ।

अर्को कारण सडक विस्तार गर्नेक्रममा क्षति पुगेका र चिरा परेर बसेका पहाड रहिरहेकाले नयाँ–नयाँ ठाउँमा खस्ने गरेको पाइएको छ । ‘तुइनखोलामा जोखिम कायमै छ, दुईतर्फी सडक राम्रोसँग सञ्चालनमा ल्याउनसाथ के कारणले समस्या आयो भन्नेबारे अध्ययन थालिहाल्छौं,’ उनले भने, ‘त्यसपछि सुधारको काम थाल्छौं, अर्को बर्खामा यस्तो समस्या आउन दिँदैनौँ ।’ यता नागढुंगा–सिस्नोखोला सुरुङमार्गबाट दसैंमा यात्रुवाहक सवारी साधन चलाउने बारे परामर्शदाता र निर्माण कम्पनीसँग छलफल गरेर मात्र निर्णय गरिने सडक विभागले जनाएको छ । सडक विभागका प्रवक्ता झाका अनुसार अरनिको राजमार्गको कोदारी खण्ड सोमबार दिउँसोबाट सञ्चालनमा आएको छ । त्यहाँ अहिले कुनै समस्या नरहेको विभागको भनाइ छ । उक्त सडकखण्ड साउन १७ गतेदेखि अवरुद्ध थियो । जसले गर्दा तातोपानी नाका ठप्प बनेको थियो । सडक खुलेसँगै तातोपानी नाकाबाट दसैंका लागि सामान भित्रिन थालेका छन् । ठूला र लामा कन्टेनर ओहरदोहर गर्ने सडक भएकाले यसलाई सुधारको काम भएको सडक डिभिजन कार्यालय दोलखाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘सडक खुलिसकेको छ, सामान बोकेका ठूला कन्टेनर हिँड्ने सडक भएकाले अझै यसलाई सुधार गर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘चीनबाट सामान लिएर नेपाल आएका कन्टेनर यो सडकबाट पार हुन थालेका छन् ।’ उनका अनुसार अहिले पानी तर्काउने काम पनि भइरहेको छ । तर ठूलो पानी परेमा भने पहिरो खस्ने जोखिम कायमै छ ।

अघिपछि र विशेष रूपमा चाडबाडमा यात्रुले सास्ती खेप्ने गरेको नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा अहिलेसम्म कुनै समस्या नरहेको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा पानी पर्दा उकालोमा सवारी साधन चिप्लिने र रोकिने समस्या छ । यस्तो समस्या आए तत्काल समाधान गर्न मेसिन र प्राविधिक जनशक्ति खटाइएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार बीपी राजमार्गमा पनि कुनै समस्या छैन । गत वर्षको असोजमा आएको बाढीले १२ किलोमिटर सडक बगाउँदा बीपी राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रु मारमा परेका थिए । दसैंका बेला यो राजमार्ग भएर करिब १० हजार सवारी साधन ओहोरदोहोर गर्छन् । सडक विभागले नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा त्रिभुवन राजपथको नौबीसे–हेटौंडा, कान्ति राजमार्गको सातदोबाटो (ललितपुर)–भैरव मन्दिर–बगुवा–लेनडाँडा–हेटौंडा, कालीगण्डकी करिडोरको गैंडाकोट–पाल्पा रामपुर–भिमाद (तनहुँ), फिर्केखोला–धादिङबेंसी–सल्यानटार, आरुघाट–आँबुखैरेनी,पोखरा–बुटवल सडकलाई वैकल्पिक रूपमा प्रयोग गर्न आग्रह गरेको छ ।
सडकका कारण यात्रुलाई समयमै गन्तव्यमा पुर्याउन समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘न गाडी आउन पाएका छन् न जान पाएका छन्, यात्रु लिएर हिँडेका गाडी मुग्लिन पार गर्न पाएका छैनन्,पहिरोले गर्दा बीच बाटोमै रोकिएका छन्,’ उनले भने, ‘त्यसैले यही अवस्था आउन सक्छ भनेर दसैंका लागि अग्रिम टिकट बुकिङ नगरौं भनेको थियौं,अग्रिम बुकिङ खुल्ला गरिएको भए कसरी यात्रुलाई लग्न सक्थ्यौं ।’ काठमाडौं गाडी भित्रिएपछि त्यहीअनुसार यात्रुलाई जाने व्यवस्था गरिने उनले बताए । ‘अहिले सबैभन्दा बढी समस्या तुइनखोलाको पहिरोले गर्दा भएको छ,’ उनले भने, ‘दसैं भित्रिसकेको छ, घर जाने यात्रुको चाप धेरै छ, सरकारी संयन्त्र सबै लागेर सडक पूर्वाधार बनाउने काम भइरहेको छ, तर पनि समस्या आइरहेको छ ।’ समस्याका बीच पनि सजकता अपनाएर यात्रा गर्न सबै यात्रुलाई उनको अनुरोध छ । दसैंमा मात्र अघिपछि उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।



Post Comment