तोडफोड र आगजनीमा पार्टीका कार्यकर्ताको संलग्नता भेटिए कारबाही गछौँ :माओवादी
३० भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले भदौ २४ गते भएको तोडफोड र आगजनीका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पुष्टि भए कारबाही गर्न आग्रह गरेको छ ।माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले एक विज्ञप्ती जारी गर्दै तोडफोडमा आफ्ना कार्यकर्ताको संलग्नता भेटिए पार्टीले पनि कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडा भन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ ।’ यद्दपि, केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनि गरिएको प्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ ।

‘यस्ता आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी तथा आन्दोलनलाई कमजोर बनाउने प्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ’ सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । माओवादी केन्द्रले जेनजी पुस्ताले उठाएर गरेको आन्दोलनमा प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएको जनाएको छ । यसबाट माओवादी केन्द्रको पार्टी कार्यालयहरू, अध्यक्ष प्रचण्ड लगायत दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आग्नजनी तोडफोड भएको जनाएको छ ।




Post Comment