एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
११ साउन, काठमाडौं ।
एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन्। २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन्। आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो।
प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो। कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ। जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका हुन्। अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ छन्। प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी गराए।
Post Comment