मधेस प्रदेशमा ३३ प्रतिशत मात्र रोपाइँ
२७ असार, जनकपुरधाम ।
मधेस प्रदेशमा पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन। असार महिना सकिन लाग्दासमेत प्रदेशको एक तिहाइ क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ। कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार असार २७ गतेसम्ममा मधेस प्रदेशमा ३३.७८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। बिहीबार साँझ बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको थियो।
प्रदेश सरकारले पानी नपर्दा मधेसमा पानीको संकट आएको भन्दै प्रदेशलाई सुख्खाग्रस्त घोषणा गर्दै राहतका लागि संघ सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।मधेस प्रदेशमा ५ लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। तर, असार सकिन लाग्दा १ लाख २५ हजार ८८८.६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन सकेको तथ्यांक छ। निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार मधेसको पर्सामा सबैभन्दा बढी धान रोपाइँ भएको छ भने सप्तरीमा सबैभन्दा कम रोपाइँ भएको छ।
पर्सामा ३९ हजार ७३१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ७३.३४ प्रतिशत अर्थात २९ हजार १३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमा अहिले १६ प्रतिशत अर्थात १० हजार ८८० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ।रौतहटमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमा अहिलेसम्म ४५ प्रतिशत अर्थात १५ हजार ७५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकोमा ४० प्रतिशत अर्थात १८ हजार ४०८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ।
सर्लाहीमा ४३ हजार ६९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमा ४० प्रतिशत अर्थात १७ हजार ४७७.६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको वरिष्ठ वागवानी विकास अधिकृत यादवले बताए। सिरहामा ५४ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा हालसम्म २९ प्रतिशत अर्थात १५ हजार ६६० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस्तै, धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमा २५ प्रतिशत अर्थात १० हजार ९२५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको तथ्यांक छ।महोत्तरीमा भने ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म १८ प्रतिशत अर्थात ७ हजार ६५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको तथ्यांक छ।
Post Comment