११ श्रावण २०८२, शनिबार

किसानलाई रोपाइँको चिन्ता : सरकारले मल दिएन, मौसमले साथ

२१ असार, काठमाडौं ।

रोपाइँ गर्ने सिजन सकिनै लाग्दा पनि सिरहाका अधिकांश खेतहरू बाँझै छन् । मौसमले साथ  र सरकारले मल नदिँदा धान रोपाइँ प्रभावित बन्दै गएको छ । खेत जोते पनि पानीको अभावले रोपाइँ सुरु गर्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भएपनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाको लहान नगरपालिका–२३ का किसान रामकुमार यादव पानी नपरेका कारण रोपाइँ नै गर्न नपाएको बताउँछन् । उनी भन्छन्, ‘खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी पर्यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।’उनका अनुसार, यसपटक असार सुरु भएदेखि नै कम वर्षा  भएकाले खेत सुख्खा छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । ‘अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डीएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,’ उहाँले दुखेसो  गरे ।आकाश कै पानी भरमा किसान, तराईका धेरैजसो जिल्ला जस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाश कै पानीकाे भर पर्न विवश छन् । ‘पहिला–पहिला असारको सुरुमा नै पानी पर्थ्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन,’ लहान–१९ का किसान प्रदीप यादवले भने ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उनले भने, ‘अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङमार्फत गरेका हुन् ।’ यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ । डीएपी मलको अभाव पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

‘दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, प्रबन्धक पौडेलले भने, ‘गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।’डीएपी मलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । उनले भने, ‘अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ ।’ युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उनले जानकारी दिए । समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, साग सब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ ।  सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?