इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
११ असार, काठमाडौं ।
इरानमा जारी संकटबीच भारतीय सहयोगमा थप ७ जना नेपाली नागरिक बुधबार स्वदेश फर्किँदै छन् । इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जना दिउँसो र तीन जना साँझ फर्किने तयारीमा छन् । त्यहाँ रहेका एक नेपाली नागरिकले अनलाइनखबरलाई दिएको जानकारीअनुसार दिउँसो दिल्ली हुँदै स्वदेश फर्कनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् । साँझको उडानबाट यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल फर्किँदै छन् । यी नेपालीहरु मंगलबार नै फर्किनुपर्ने योजना भए पनि ‘एक्जिट परमिट’ नपाएकाले रोकिएका थिए ।
तर, बुटवलका सुमन गैरे र गणेश पोखरेल भने परमिट मिलेसँगै मंगलबार नै स्वदेश फर्किएका थिए। उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले विमानस्थलमा स्वागत गरेको थियो । उद्धार प्रक्रिया भारतीय दूतावासको सहकार्यमा अघि बढाइएको हो । उद्धार अन्तर्गत ती नेपालीहरू आइतबार बसमार्फत मसहदस्थित विमानस्थलसम्म पुर्याइएका थिए । फिर्ता हुँदै गरेका केही नेपालीहरु दूतावासमा र केही रेष्टुरेन्टमा कार्यरत थिए । यसैबीच सरकारले इजरायलमा रहेका नेपालीहरुलाई पनि आवश्यक परेको खण्डमा उद्धार गर्ने तयारी गरिरहेको छ ।
शुक्रबार परराष्ट्रमन्त्री डा.आरजु राणाको संयोजकत्वमा श्रम, पर्यटन, गृह तथा परराष्ट्र मन्त्रालयको संयुक्त बैठकमा इरान र इजरायलबीचको युद्ध परिस्थितिको समीक्षा गर्दै दुवै देशबाट नेपाली नागरिकको सुरक्षित उद्धारको तयारी भइरहेको जानकारी दिइएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा करिब ५ हजार ५ सय नेपाली छन् । हालै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले उच्चस्तरीय आणविक बम निर्माण सुरु गरेको भन्दै त्यसविरुद्ध सैनिक कारबाहीको घोषणा गरेका छन् । उनले इरानको यो कदम आणविक अप्रसार सन्धिको उल्लंघन भएको आरोप लगाएका छन् । ओमानमा अमेरिका र इरानबीच नयाँ आणविक वार्ताको तयारी भइरहेका बेला इजरायली कारबाहीले तनाव थपिएको छ ।
Post Comment