रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
६ असार, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम हटाएका छन् । प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार साढे ११ बजे संसद् भवन पुगेका थिए ।
प्रतिनिधि सभाको बैठक शुरू भएपछि विगतमा जस्तै रास्वपा र राप्रपा सांसद उठेर विरोध जनाएका थिए । निलो रिबन भिरेर आएका रास्वपा सांसदले उभिएर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक बैठक सुचारु गर्न आग्रह गरेका थिए ।
राप्रपा र रास्वपा सांसदको अवरोध कायम रहेपछि सभामुख घिमिरेले ‘विशेष कारणबस’ भन्दै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको घोषणा गरे । त्यसपछि प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका छन् । प्रत्येक महिनाको पहिलो साता संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिँदै आएको थियो ।
Post Comment