२६ जेष्ठ २०८२, आईतवार

प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र

 

१४ जेठ,बुटवल ।

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई पदमुक्त गर्न जनमत पार्टी संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले गुरुङलाई पदमुक्त गर्न माग गरेको हो । गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिई छोराछोरीसँगै बेलायतमा बस्दै आएकी छन् ।

उनले वैशाख ३० गते हस्तलिखित राजीनामा पत्र संचारमाध्यमहरू मार्फत सार्वजनिक गरेकी थिइन् ।प्रदेश सभाको छैटौँ अधिवेशनका ११ बैठकमै अनुपस्थित भएपछि प्रदेश सभाले आवश्यक प्रकृया पूरा गरी पद रिक्त भएको जानकारी गराउन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ  । नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभालाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा’ प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

त्यसकै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुासर ‘सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने’ उल्लेख छ । प्रदेश सभा नियमावली अनुसार बुधवारको प्रदेश सभा बैठकमा गुरुङको स्थान रिक्त भएको जानकारी दिन लागिएको हो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् । लुम्बिनी प्रदेश सभामा गुरुङ सबै भन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् । पाचौं अधिवेशनसम्मका ८३ वटा बैठक मध्ये गुरुङ ३४ वटा बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैठौं अधिवेशनका १० बैठकमा उनी निरन्तर अनुपस्थित रहेको प्रदेश सभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?