तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने
७ जेठ, काठमाडौं ।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाउने प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । परिसरको मुद्दा शाखाका प्रमुख तथा एसपी कुलदीप चन्दले अनुसन्धानको पाटो सकिएकाले अब डकुमेन्टेसन गरेर फाइल बुझाउन लागिएको जानकारी दिए । ‘अनुसन्धान सकिएको छ । अब प्रतिवेदन तयार पारेर बुझाउने तयारीमा छौं । सम्भवत आज/भोलिमा सरकारी वकिल कार्यालयमा प्रतिवेदन जान्छ,’ एसपी चन्दले भने ।
यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले बुझाउन लागेको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ । संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ । १५ जेठ अघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले जतिसक्दो चाँडो अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले तयारी गरेको छ । प्रहरीले मुद्दा चलाउनुपर्ने भनेर उल्लेख गरिएका १ सय ८ जनामध्ये भने १८ जना अझै फरार छन् । बाँकीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । तीमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।
अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।१५ चैत २०८१ राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमाण्ड भने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राणा र वरिष्ठ उपाध्यक्ष मिश्रलाई पक्राउ गरेको थियो । ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका घाइते भेटेर फर्केने क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र सांसद राणा पक्राउ परेका थिए । मुख्य कमाण्डर भनिएका प्रसाईंलाई भने भारतबाट पक्राउ गरेर ल्याइएको थियो । ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली मगाएर अनुसन्धान गरेका छन् ।
Post Comment