२६ जेष्ठ २०८२, आईतवार

नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

 

५ जेठ, काठमाडौं ।

आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपाललाई यूएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन जोडेको हो ।

यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा २ चौका र एक छक्काको मदतमा सर्वाधिक ३९ रन नै जोडिन् ।  साथै अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रन जोडिन् । बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना बढ्नेछ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो ।

प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment