प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
२१ वैशाख , काठमाडौं ।
भारतको ओडिसा राज्यस्थित कीट (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको दुःखद र शंकास्पद निधनप्रति गहिरो शोक व्यक्त गर्दै काठमाण्डौस्थित माइतीघर मण्डलामा शुक्रबार साँझ श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी विद्यार्थी, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले “न्याय दे, ढिलाइ नगर”, “नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर”, “Justice Delayed is Justice Denied” लगायतका नारा लगाउँदै घटनाको यथाशीघ्र निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका थिए। प्रिसा साहको अप्रत्याशित निधनले नेपाली समुदायमा गहिरो स्तब्धता छाएको छ। उपस्थित वक्ताहरूले शोकमा डुबेका परिवारप्रति
समवेदना व्यक्त गर्दै, भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थीको सुरक्षाका विषयमा सरकार र सम्बन्धित निकायहरू अझ जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममार्फत भारतस्थित नेपाली दूतावास र नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र बुझाउने तयारी पनि गरिएको आयोजकले जनाएका छन्। ज्ञापनमा घटनाको यथार्थ पत्ता लगाउने, पीडित परिवारलाई न्याय दिलाउने तथा आगामी दिनमा यस्ता दुःखद घटना दोहोरिन नदिन प्रभावकारी नीति तथा संयन्त्र निर्माण गर्न आग्रह गरिएको छ। दीप प्रज्वलन गर्दै सहभागीहरूले मौनधारण गर्दै प्रिसाको आत्माको चिरशान्तिको कामना गरेका थिए।
Post Comment