लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन, चार होटललाई ३० हजार जरिवाना
२८ चैत, काठमाडौं ।
इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन शुरू गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।

यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ । उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।

अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो । उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताए ।
Post Comment