बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा उजुरी दर्ता
२६ फागुन, काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष ओझाविरुद्ध नक्कली कागजात देखाएर प्राधिकरणमा नियुक्त भएको भन्दै दिपेन्द्र बोहरा नाम गरेका व्यक्तिले अख्तियारमा उजुरी गरेका हुन् ।
उनले दिएको निवेदनमा अध्यक्ष ओझाले प्राधिकरणमा नियुक्ति खानका लागि देखाएको व्यवस्थापकको कागजात नै नक्कली भएको उल्लेख छ। ओझाको उमेर ३३ वर्ष बताइएको र नीतिगत व्यवस्थाबमोजिम यो नियुक्तीका लागि उमेर हद नकटेको बताइएको छ । यस्तै, ऐन बमोजिम ३५ वर्ष नाघेको र ६५ वर्ष ननाघेको व्यक्ति अध्यक्ष नियुक्तिका लागि योग्य हुने व्यवस्था भएको समेत निवेदनमा उल्लेख छ । ओझाले पत्रकारकारुपमा काम गरेको समाचार संस्थामा व्यवस्थापकका रुपमा काम गरेको भनिएको कागजात नै नक्कली रहेको बताइएको छ ।
सरकारले फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। नियुक्तिपछि उनको योग्यता र क्षमतामाथि निरन्तर प्रश्न उठ्दै आएको छ। ओझाको नियुक्ति सार्वजनिक भएपछि बीमा क्षेत्रका सरोकारवाला, विज्ञ तथा सेवाग्राहीहरूले उनको कार्यकालबारे शंका व्यक्त गरिरहेका छन्।
Post Comment