राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।
राष्ट्रिय सभामा अहिले तीनवटा विधेयकहरू मात्रै छन्।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भइसकेको छ। गृहमन्त्रीले विधेयक अध्ययनका लागि समय मागेकाले पारित गर्न मात्रै बाँकी छ। त्यसैगरी, विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलको क्रममा छ। राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा गएका आठवटा विधेयक फिर्ता आउन बाँकी छ।