बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु
भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उनले बताए । बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको भने एउटा आंशिक क्षति भएको उनले बताए । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको उनको भनाई छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाइकलमा क्षति भएको उनले बताए ।
Post Comment