९ वैशाख,सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारका इकाइ नभएकाले उनीहरुले स्वायत्त रुपमा काम गर्न पाउने संवैधानिक व्यवस्था भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका आफ्नो अधिकार क्षेत्र भएकोले संविधानत पालना गर्नुपर्ने बताए ।

सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन÷प्रशारण गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्रीसंग छलफल गरेको छ । संविधान प्रदत्त अधिकार प्रयोग गर्न सबै तहका सरकार स्वतन्त्र भएको उनको भनाई छ । ‘प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन्’ उनले भने, ‘सबै तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्न स्वतन्त्र छन् । सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रशारण गर्ने गरेको परिपत्र संघीयताको मर्म विपरित भएको मूख्यमन्त्रीको भनाई छ ।

महासंघले गरेको आन्दोलनमा आफ्नो प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री कँडेलले वर्तमान सरकार जननिर्वाचित सरकार भएपनि सुरुवाती दिनहरु लोकतान्त्रिक हुन नसकेको बताए । ‘निर्वाचित निरंकुशता बहुत डरलाग्दो हुन्छ’ उनले भने, ‘संघीय सरकारका सुरुवाती त्यत्ति राम्रो देखिँदैँन ।’ प्रदेश सरकारमा संघीय सरकारको प्रशासनिक जनशक्तिको नेतृत्व हुँदा सरकारले गर्ने निर्णयहरु कार्यान्वयनमा कठिनाई भएको उनले बताए । संविधानलाई पालना गर्दै कानूनी शासनको प्रत्याभुती कर्णाली सरकारको प्राथमिकता भएको उनको भनाई छ । ‘प्रदेशसरकारको प्रशासनिक प्रमूख संघीय सरकारको प्रतिनिधि रहने व्यवस्थाले प्रदेश र स्थानीय तहलाई काम गर्न सहज छैन’ उनले भने, ‘प्रशासनिक प्रमूखलाई संविधान र कानून भन्दा पनि संघीय सरकारको परिपत्र प्रमूख मानेर अगाडि बढ्ने काम भइरहेको छ ।

लोकतन्त्रको बिकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र खुला अर्थ नीतिको पक्षमा महासंघले उठाएको आवाजमा आफुसंगै रहने प्रतिबद्धता जनाए ।सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन÷प्रशारण गर्ने गरी गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले सबै प्रदेश सरकार र स्थानीय सरकारहरुमा पत्राचार गरेपछि नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलन घोषणा गरेको छ । उक्त कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीसंग छलफल गरिएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया