स्वार्थको द्वन्दमा पालिका
अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा उत्पन्न विवाद कार्यपालिका भित्रको स्वार्थ–संघर्षको परिणाम हो । अध्यक्षले मालिस गराएको भिडियो प्रकरणदेखि राजीनामा विवादसम्मका घटनाहरू आन्तरिक स्वार्थ र गुटबन्दीको परिणामका रूपमा देखिएका छन् । यही कारण पालिकाको चालु आर्थिक वर्षको गाउँपरिषद् अहिलेसम्म सम्पन्न हुन सकेको छैन । पालिका उपाध्यक्ष चौधरीका अनुसार परिषद् हालसम्म सम्पन्न हुन सकेको छैन । जसका कारण कर्मचारी र जनप्रतिनिधिहरू चालु आर्थिक वर्ष २०८२÷०८३ को कात्तिकसम्म तलब–भत्ताबाट वञ्चित भएका छन् । जसको कारण हो, बजेट सिलिङ र कार्यान्वयन विवाद । वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि खंगका अनुसार अघिल्ला वर्षहरूमा वडाको बजेट सिलिङ मात्र ५० लाख रुपैयाँ थियो । तर यसपटक पालिका अध्यक्षले एक करोड ५० लाख रुपैयाँ दिएपछि अत्यन्त न्यून ४/५ पटा योजनामा मात्र खर्च गर्नुपर्ने सर्त र अडानका कारण उनको आफ्नै वडाध्यक्ष सहितका जनप्रतिनिधि समेत रुष्ट छन्
‘धेरै टोल छन् । अध्यक्षज्यूले डेढ करोड बजेट सिलिङ दिनुभयो । तर ४/५ वटा योजना मात्रमा कार्यान्वयन गर्नुपर्ने अडान लिनुभयो । यसरी सबै टोललाई समेट्न गाह्रो छ । जहाँको योजना हामीले समावेश गरिसकेका छौं । त्यो छाड्यो भने जनता रुष्ट हुन्छन् । यसकारण जनप्रतिनिधिहरू रुष्ट छन्,’ खंगले भने । अग्नीसाइर कृष्णसवरनको मिश्रित परिणामका कारण कार्यपालिकामा बेलाबेला विवाद हुने गरेको छ । जनप्रतिनिधिको विवादका कारण पालिकाको कार्यसम्पादनमा समस्या हुने गरेको छ । ६ वटा वडा रहेको यस पालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्षसहित १ र ५ वडा जितेको छ । कांग्रेसले उपाध्यक्षसहित ३, ४ र ६ वडा जितेको छ भने २ नम्बर वडा माओवादी केन्द्रले जितेको हो ।
१४ सदस्यीय कार्यपालिकामा कांग्रेसका ८, माओवादी केन्द्र र एमालेका ३–३ सिट छन् । यसकारण अध्यक्ष चौधरी कार्यपालिकामा अल्पमतमा छन् ।
एकातर्फ अधुरो परिषद् र अर्कोतिर ४ महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा झन् निराशा चुलिएको छ । गत भदौ महिनादेखि पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
जेनजी आन्दोलनको अघिल्लो दिन भदौ २२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा केशव झा आए पनि उनलाई हाजिरी हुन दिइएन । झा फिर्ता भएपछि अर्को प्रशासकीय अधिकृत आउन लागेको पालिका अध्यक्ष चौधरीले दाबी गरे ।






प्रतिक्रिया