नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
८१ पटक हेरिएको
Shares
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस

सारांश

  • ऋण दिँदा घुस, त्यो पनि बैंक सञ्चालक समितिकै अध्यक्षबाट !
  • झट्ट सुन्दा विश्वास नलाग्न सक्छ ।
  • तर मुलुककै पहिलो र सरकारीमध्येको एक, नेपाल बैंक लिमिटेडमा यस्तै भएको छ ।

३० जेठ, काठमाडौं ।

ऋण दिँदा घुस, त्यो पनि बैंक सञ्चालक समितिकै अध्यक्षबाट ! झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर मुलुककै पहिलो र सरकारीमध्येको एक, नेपाल बैंक लिमिटेडमा यस्तै भएको छ । हाल पदमुक्त भइसकेका बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई ऋणीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ । तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले उनीमाथि तीनवटा घटनामा ७४ लाख रुपैयाँ घुस खाएको अभियोग लगाएको छ ।

तनहुँमा पेट्रोल पम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । त्यसको सुइँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले ऋणका लागि निवेदन दिने आवेदकहरूलाई भेटेर घुस मागेको अख्तियारको आरोप छ । कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोड ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक पर्ने भनी उनले सेवाग्राहीसँग घुस मागेका थिए । उनकी पत्नी मधुमाया अधिकारीको खातामा सुरुमा ५ लाख, त्यसपछि चेकमार्फत १५ लाख र ३० लाख रुपैयाँ ‘डिपोजिट’ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सुरुमै घुस लिएका उनले पछि ऋण दिन ढिला गरे । त्यसपछि घुस लिएर पनि काम नगरेको आरोपमा अविनाश श्रेष्ठको नामबाट नेपाल राष्ट्र बैंकमा उजुरी पर्‍यो । उजुरीपछि अधिकारीले मिलापत्र गर्नुका साथै पत्नी मधुमायाको खाताबाट अविनाशको खातामा ५० लाख रुपैयाँ फिर्ता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले आफ्नो र पत्नीको खातामा घुस माग्ने क्रममा प्रायः आफ्ना ड्राइभर उमेश महर्जनमार्फत कारोबार गरेको भेटिएको छ । हुन पनि ड्राइभरसँगको १४ पटकको कारोबारबाट उनले २५ लाख ५७ हजार रुपैयाँ लिएका थिए । त्यस क्रममा उनीहरूले बारम्बार नगद, मोबाइल बैंकिङ र चेकमार्फत कारोबार गरेको खुलेको छ । ११ भदौ २०८० मा नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका अधिकारी डा. चन्द्रबहादुर अधिकारीले घुस माग्न थालेको उजुरीपछि नेपाल राष्ट्र बैंकले नै छानबिन गरेको थियो । त्यही छानबिन प्रतिवेदनका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको हो । घुस खाएको आरोप लागेपछि तत्कालीन अध्यक्ष अधिकारीले ड्राइभर उमेश महर्जनसँग आफ्नो व्यक्तिगत लेनदेन हुने गरेको र त्यस क्रममा कारोबार भेटिएको बताए । चितवनमा मधु एकीकृत कृषि फार्म खोलेकी आफ्नी पत्नीले पनि त्यस क्रममा ड्राइभरसँग कारोबार गर्ने भनी उनले बयान गरेका थिए, जसलाई अख्तियारले अपत्यारिलो भनेको छ । उनले नेपाल राष्ट्र बैंकमा दर्ता भएको उजुरीलाई पनि कन्सल्टेन्सी खरिदका क्रममा अविनाश श्रेष्ठसँग भएको विवादको कारण भन्दै अहिले त्यो मिलिसकेको जिकिर गरेका छन् । एउटा मुद्दामा अख्तियारले रमेश आचार्य भन्ने व्यक्तिलाई पनि मुद्दा चलाएको छ, जुन घटनामा अधिकारीले आफूले कन्सल्टेन्सी बेच्नका लागि चेक लिएको बयान गरेका छन् ।

नेपाल राष्ट्र बैंकको छानबिनले घुस दिँदा पनि ऋण नपाएपछि उजुरीकर्ता रुष्ट भएको निष्कर्ष निकाल्दै नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई ५ लाख रुपैयाँ जरिवाना गर्‍यो । अनि ५ वर्षसम्म बैंक तथा वित्तीय संस्थामा जिम्मेवारी नपाउने गरी कारबाही गर्ने निर्णय लिएको थियो । सूचना–प्रविधि क्षेत्रका विवादास्पद सुनिल–विपल पौडेलले सिंगापुरमा घुस लुकाएको भनी अख्तियारले गरेको दाबी बाहेक मुलुकभित्र घुसको कारोबार नै ट्र्याकिङ गरेको यो ठूला केही घटनामध्येको एक हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु हरिवंश कार्की, उनकी श्रीमती लक्ष्मी लम्साल कार्की लगायतहरू ७२ लाख रुपैयाँसहित पक्राउ परेका थिए । २२ कात्तिक २०७१ मा बरामद भएको त्यो रकमलाई अख्तियारले घुस भनी दाबी गरेको थियो । । जुन मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । यी दुई बाहेक अख्तियारकै आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खाएको आरोपलाई विशेष अदालतले आंशिक अनुमोदन गरेको छ, जुन मुद्दा सर्वोच्चमा विचारीधिन छ । त्यो घटनामा ७८ लाख रुपैयाँ बरामद भएको नभई आयुक्त पाठकले रकम लिएको स्वीकार गरी फिर्ता गर्छु भनेर गरेको प्रतिवद्धता लुकाएर खिचिएको भिडियोमा रेकर्ड भएको थियो ।

घुस लेनदेनको यो घटनाले केही नयाँ प्रवृत्ति सतहमा ल्याएको छ । प्रत्यक्षतः कुनै पनि बैंकका सञ्चालक समितिका अध्यक्षले ऋण प्रवाह जस्ता कार्यकारी निर्णय गर्ने अधिकार राख्दैनन् । त्यस्तो अवस्थामा समेत अध्यक्षले गरेको सौदाबाजी र मोलमोलाइले सरकारी बैंकबाट ऋण लिन सेवाग्राहीले खेप्नुपर्ने सास्ती र हैरानी सतहमा ल्याएको हो । सस्तो र स्थिर व्याजदर, सहज रूपमा किस्ता तिर्ने सुविधा लगायतका सहुलियतले सरकारी बैंकहरूको ऋणमा व्यवसायीहरूको आकर्षण छ, तर उनीहरूबाट ऋण लिने क्रममा सेवाग्राहीले बेहोर्नुपर्ने झन्झट भने चर्को छ । अख्तियारले गत माघमा नै अधिकारीको घरमा छापा मारेर चेकहरू, बैंक खाताका स्टेटमेन्ट र लेनदेनको टिपोट समेत भएका डायरीहरू बरामद गरेको थियो । त्यहीबाट प्राप्त ‘क्लू’ पछ्याउँदै जाँदा अनुसन्धान अधिकारीहरूले अरु महत्वपूर्ण विवरण फेला परेको जिकिर गरेका छन् । दुई साताअघि मात्रै अख्तियारले दुईजना अनुसन्धान अधिकृत तोकेर उनीमाथिको छानबिनलाई तिव्रता दिएको थियो । त्यस क्रममा उसले ऋणीहरूबाट व्यक्तिगत रूपमा आर्थिक लाभ लिएको र आचरण विपरीतका काम गरेको भनी राष्ट्रबैंकले नै प्रतिवेदन तयार पारेको खुलेको हो । अख्तियारले उनीमाथि अनुसन्धान गर्ने क्रममा अरु व्यक्तिहरूबाट पनि घुस लिएको भेटायो । भैरहवामा एक हस्पिटालिटी कम्पनीलाई ऋण दिने क्रममा अधिकारीले ‘श्रीमती बिरामी भएकाले उपचार गर्नुपर्ने’ भन्दै सापटी मागेको खुल्यो ।

अख्तियार स्रोतले भन्यो, ‘मानवीय पक्ष देखाए सापटी भनिए पनि त्यो फिर्ता गर्ने रकम थिएन । ऋण मिलाइदिए वापतको लाभ नै थियो ।’अख्तियारको अनुसन्धानले त्यो डिलमा मात्रै नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले १२ र ७ लाख गरी १९ लाख रुपैयाँ खाएको खुल्यो । अरु व्यक्तिको खातामा पैसा हाल्न लगाएका उनले एकपछि अर्को तह गर्दै अन्ततः लक्की खानको खातामा रकम ट्रान्सफर गर्ने र उनीबाट आफूले नगद लिने गरेको खुलेको छ । तेस्रो मुद्दा हिमाल–तराई कन्स्ट्रक्सनसँग सम्बन्धित हो । उसले बैंकमा ऋण लिन निवेदन पेस गरेकोमा चन्द्रबहादुरले एक प्रतिशतका दरले हुने ५ लाख रुपैयाँ घुस लिएको खुलेको छ । छानबिनका क्रममा लोनको फाइल हेरी उनले मात्रै १ देखि ३ प्रतिशत लोन माग्ने गरेको खुलेको हो । मुद्दा जाने अवस्था भएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो । उनले ‘केही समयदेखि रिक्त भएको नेपाल राष्ट्र बैंकको गभर्नरका लागि म सशक्त उम्मेद्वार हुँ’ भनी प्रतिक्रिया दिए । ‘उक्त पदका लागि मेरो जक्तिको क्षमता कमै व्यक्तिमा थियो, यसैको डाह गरेर मलाई जसरी पनि असफल बनाउन झुटो आरोप लगाई फसाउने उद्देश्यले उजुरी दिएका हुन्,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
रुपन्देहीमा इँटा उद्योगका एक मजदुरको कुटपिटबाट मृत्यु
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
सबैखाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छौँ : प्रचण्ड
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
थाइल्यान्डमा सुरक्षा विमान दुर्घटना, ६ जनाको मृत्यु
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सुरु