सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
२४ पटक हेरिएको
Shares
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार

सारांश

  • १७ वैशाख २०७७ मा दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो ।
  • तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए ।
  • चार वर्षपहिला विद्युतीय दुर्घटनामा परेका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ ।

 

विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका– ५, किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीनपाङ्ग्रे सवारीसाधन (अटो रिक्सा) चलाएर जीवनमा पुन: खुसी फर्काए । १७ वैशाख २०७७ मा दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए ।

चार वर्षपहिला विद्युतीय दुर्घटनामा परेका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ । केही समयसम्म वैशाखीको सहारा लिएका उनी अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । कृत्रिम खुट्टाको सहाराले उनलाई सामान्य काम गर्न र हिँडडुल गर्न सहज मात्र भएको छैन, विगत दुई वर्षदेखि अटो रिक्सा चलाएर मनग्य कमाइ पनि गरिरहेका छन् । ‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो,’ उनले भने, ‘परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरुदण्ड बनेको छु । अटो रिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति भएको छ ।’ अटो रिक्सा चलाएर कमाएको १६ लाख रुपैयाँले एउटा पक्की घर बनाएको उनले बताए । एउटा अटो रिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उनले अर्को मयुरी किनेका छन् । अटो रिक्साकै कमाइबाट ४ लाख ५० हजार रुपैयाँ खर्च गरेर नयाँ मयुरी थपेको उनले जानकारी दिए ।

कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कट्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रातदिन नभनी अटो रिक्सा चलाउने उनले दैनिक ७ हजार रुपैयाँसम्म कमाउँछन् । थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सयसम्म आम्दानी गरेको उनी बताउँछन् । खर्च कटाएर कम्तीमा महिनाको ६० हजारको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा ७ लाख बढी कमाइ रहेको उनले बताए । ‘दिनको एक सयको बिजुली खर्च हुन्छ,’ उनले भने, ‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन ।’ बजारको दिन त भ्याइनभ्याइ हुने गरेको उनको अनुभव छ । राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याए ।   आफूले अटो रिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँचवटा मयुरी थपिएको उनले बताए । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिए । २०६० साखमा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो ।

दुई भाइ र एक बहिनीमध्येका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएका थिए । २०७६ सालमा विद्युतीय दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको थियो । ‘सम्पत्तिको नाममा २ कट्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घरबाहेक केही थिएन,’ सन्तलालले भने, ‘केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिनुभएको मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो ।’ त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झिँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउँछिन् ।  ‘छोरा दुर्घटनामा परेपछि त मेरा लागि सारा धर्ती भासिएजस्तै भयो,’ उनले भनिन्, ‘श्रीमान्‌को हात काटिएपछि घर हेर्ने छोराको अवस्था यस्तो भएपछि के भयो होला ? सम्झना गर्न मन लाग्दैन ।’ छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?