छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’
सारांश
- सर्लाही ।
- सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धा र समर्पणका साथ मनाइने छठ पर्व मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ।
- पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ।
सर्लाही ।
सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धा र समर्पणका साथ मनाइने छठ पर्व मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ। पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ। यस दिन ब्रतालुले स्नान गरी अरबा-अरबाइन भोजन ग्रहण गर्ने परम्परा छ।
पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार ‘खरना’ परेको छ। यो दिन ब्रतालुले साँझमा चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्छन्।
तेस्रो दिन बिहीबार छठ पर्वको मुख्य दिन ‘सांझका अर्क’ (साँझको अर्घ्य) रहेको छ। यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने परम्परा रहेको छ।
छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान ‘उदयका अर्क’ (उदाउँदो सूर्यलाई अर्घ्य) दिएपछि पर्वको विधिवत समापन हुनेछ। यस अन्तिम दिनलाई ‘पारन’ भनिन्छ, जसमा ब्रतालुहरूले अन्न र जल ग्रहण गरी व्रत समाप्त गर्छन्।
छठ पर्वमा बाँसका ढाकी, डगरी, माटोका कोसिया, हात्ती, लगायतका सामग्री चढाइन्छ। साथै, ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी तथा विविध मिठाई र फलफूललाई अर्घ्यको रूपमा सूर्यदेवलाई चढाउने गरिन्छ।
यस पर्वमा विशेष गरी ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, जसलाई छठ पर्वको कठोर साधना मानिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा चढाइएको सामग्री प्रसादको रूपमा ग्रहण र वितरण गरिन्छ, जसले समाजमा आपसी सद्भाव र एकताको प्रतीकको रूपमा यस पर्वलाई परिचित गराएको छ।
तराई-मधेश क्षेत्रमा छठ पर्वको तयारीले हाल पूरै वातावरण उत्सवमय बनेको छ। पूजा सामग्री किनमेलका लागि बजारमा भीडभाड बढेको छ, भने नदी, पोखरी, र अन्य जलाशयका घाटहरूलाई विशेष रूपमा सजाउने काम भइरहेको छ।






प्रतिक्रिया