सर्लाहीमा स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय नागरिक नियन्त्रणमा
सारांश
- सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
- सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।
- सखुअवा बीओपीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनिलकुमार यादवको कमान्डमा खटिएको पाँच सदस्यीय सीमा गस्ती टोलीले मोटरसाइकलमा सवार भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार रामलाई नियन्त्रणमा लिएको जनाएको छ।
१२ मंसिर, सर्लाही।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित इनर्वा नाकाबाट स्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० आर २११९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।

सखुअवा बीओपीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अनिलकुमार यादवको कमान्डमा खटिएको पाँच सदस्यीय सीमा गस्ती टोलीले मोटरसाइकलमा सवार भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार रामलाई नियन्त्रणमा लिएको जनाएको छ। जाँचका क्रममा उनीहरूको साथ तथा मोटरसाइकलको डिकीबाट ५०० रुपैयाँ दरका ८०० थान नेपाली नोट गरी चार लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, ५०० रुपैयाँ दरका दुई थान भारतीय नोट र दुई थान मोबाइलसमेत फेला परेको छ। नगद, मोटरसाइकल र दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया