जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ
सारांश
- पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।
- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
- सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।
जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ।
पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको हो।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थाले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।
सोही आधारमा प्रहरीले पत्रकार श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगेको हो।

पत्रकार श्रेष्ठ स्वयंले आफू पक्राउ परेको पुष्टि गरेका छन्।
घरमा प्रहरी पुगेका बेला उनले फेसबुकमा लेखेका छन्, ‘भरमार गालीगलौज गर्नेहरू फुक्काफाल। समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरूले घरैमा लिन आउनुभएको छ।’
प्रकाशित समाचारको निहुँमा अश्लील गालीगलौज गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै जनआस्थाले पनि हिमेशविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।
यसैबिच नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उनको तुरुन्त रिहाइको माग गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो। नेपालको संविधान, कानुन र विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यताको उल्लंघन हो। सरकारको फासीवादी चरित्रको उदाहरण हो। किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर।’
पत्रकार श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पनि आक्रोश व्यक्त गरेकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘समाचार चित्त बुझेन भने साइबर ब्युरोमा उजुरी हाल्न लगाउने, २४ घण्टा नपुग्दै बिदाको दिन पत्रकार प्रकाउ! अधिनायकवादी सुधन गुरुङ।’
पत्रकार श्रेष्ठलाई यसअघि गत साउन २७ गते पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्रीसमेत जफत गरेको थियो।
तर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।
सम्बन्धित खबर
प्रतिक्रिया