नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
२९ चैत विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए । नयाँ समीकरण बन्नुभन्दा अगाडिदेखि नै सहकारीको विषय उठे पनि अहिले आएर मात्रै कांग्रेसले कुरा उचालेको उनले बताए । ‘पहिला कांग्रेससँग गठबन्धन हुँदा नै यो कुरा आएको थियो,’ उनले भने, ‘नयाँ समीकरण फेरिएपछि कांग्रेसले पहिलो कोसिस रविलाई प्रधानमन्त्री बनाउन गरेको हो । त्यो सफल नभएपछि अहिले छानबिनको प्रश्न उठायो ।’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले रविविरुद्ध कुनै प्रमाण नभएको बताइरहेको उनले दोहोर्याए । यसअघि संसद्मा पनि उनले रवि निर्दोष रहेको दाबी गरेका थिए । समग्र सहकारीको र रविको विषयमा अलग गरेर छलफल गरे समस्या समाधान हुन सक्ने उनको भनाइ छ । ‘मैले सदनमा राजनीतिक कारणको जवाफ दिएको होइन । अनुसन्धान कर्ताको सुझावअनुसार नै संसद्मा बोलेको हो,’ उनले भने । मैले कसैलाई बचाउनु पर्ने कारण छैन ।
छानबिन गर्दा प्रमाण पुग्यो भने सरकार अनुसन्धानका लागि पछि पर्दैन । तर प्रतिपक्षीले सहकारीभन्दा राजनीतिक मुद्दा बनाएको छ।’ संसद्को गतिरोध अन्त्य गर्न छलफल भइरहेको प्रचण्डले बताए । ‘सभामुखले पनि छलफल गर्नुभएको छ । मैले पनि गरिरहेको छु । यो राजनीतिक सहमतिकै आधारमा समाधान हुन्छ,’ उनले भने । कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ।
Post Comment