२० चैत,काठमाडौं ।

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको संवादमा उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गरे ।

उनले भने, ‘०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । उनका अनुसार विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले आधारभूत जीवनस्तरमा सुधार ल्याएको छ ।’ तर, भौतिक विकाससँगै आर्थिक विकास हुन नसकेको उनले बताए । ‘मानिसको आयआर्जनको अवस्था अझै कमजोर छ, युवाहरू अहिले पनि भारत गएर मौसमी काम गर्न बाध्य छन्,’ उनले भने । जिल्लामा उद्योग, व्यवसायिक खेती तथा रोजगारी सिर्जना गर्ने क्षेत्रको अभाव प्रमुख समस्या रहेको उनको भनाइ छ ।

गिरीले बाजुरामा जडिबुटी, खानी र पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रलाई उपयोग गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताए । ‘गौमुल र हिमाली क्षेत्रमा जडिबुटी प्रशस्त छन्, खानीहरू पनि छन्, ती क्षेत्रमा लगानी भित्र्याएर उद्योग सञ्चालन गर्न सकियो भने स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने । उनले बुढीनन्दा ताललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै भने, ‘जीपीएस मापनअनुसार बुढीनन्दा ताल तिलिचोभन्दा अग्लो देखिएको छ । यसलाई अन्तर्राष्ट्रिय सूचीमा राख्न सके पर्यटनमा ठूलो टेवा पुग्छ । साथै खप्तड, बडिमालिका जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासले पनि आर्थिक गतिविधि बढ्ने छ,’ उनको भनाइ छ ।देशको समग्र अर्थतन्त्र कमजोर हुँदा अपेक्षित बजेट विनियोजन गर्न कठिनाइ भएको पनि गिरीले बताए । ‘राजस्व संकलन लक्ष्यअनुसार भइरहेको छैन, बजेट अभावले जिल्लाका सम्भावनाहरू कार्यान्वयनमा लैजान गाह्रो भइरहेको छ,’ उनले स्पष्ट पारे ।

उनले सेती लोकमार्ग, कर्णाली राजमार्ग स्तरोन्नती तथा मुगु कर्णाली जलविद्युत् आयोजना जस्ता ठूला परियोजनालाई ‘गेम चेन्जर’ का रूपमा अघि बढाउनुपर्ने बताए । ‘यी परियोजनाले दीर्घकालीन रूपमा रोजगारी र आर्थिक गतिविधि बढाउँछन्,’ उनले भने । उनले बाजुराको विकासका लागि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए । ‘संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरेर इमानदार प्रयास गरे बाजुराको विकास सम्भव छ,’ उनले भने,‘जनताले दिएको विश्वास कहिल्यै टुट्न दिने छैन । जनताले दिएको भरोसा टुट्न दिने छैन, इमानदार प्रयास जारी राख्छु ।’