१८ चैत,विराटनगर ।

कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका हुन् ।

मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार परियोजनाको औपचारिक शुभारम्भ बिहीबार नै सुनसरीको इटहरीमा हुने कार्यक्रममार्फत गरिनेछ । युवालाई उद्यमशीलतामा आकर्षित गर्न साना तथा मझौला उद्योगका लागि ३० लाखदेखि तीन करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने उनले बताए । यसका लागि विभिन्न बैंक छनोट भइसकेको र स्वीस सरकारसँगको सहकार्यमा आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा करिब आठ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । ‘युवालाई उद्योग सञ्चालनमा सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य लिएका छौँ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्,ङयसले बेरोजगारी समस्या समाधानमा समेत टेवा पुग्नेछ ।

उनका अनुसार हिमाली तथा पहाडी जिल्लाका युवालाई सहुलियतमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ भने ३० देखि ४० प्रतिशत धितोमा ऋण प्रवाह गरिनेछ । यसैबीच, प्रदेश सरकारले गत वर्षदेखि सञ्चालन गर्दै आएको ब्याज अनुदान कार्यक्रमअन्तर्गत हाल १५० भन्दा बढी परियोजना सञ्चालनमा छन् । कृषि मन्त्रालयमार्फत छ करोड रुपैयाँविनियोजन गरिएको उक्त कार्यक्रममा प्रदेश सरकारले कुल लगानीको ६ प्रतिशत ब्याज व्यहोर्दै आएको छ । मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमकै अवसरमा उद्घाटन गरिएको बुद्धपार्कले कोशी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य थपिएको उनले बताए । आगामी दिनमा पार्कमा आवश्यक संरचना निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने र यसलाई धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा समावेश गरिने पनि उनले उल्लेख गरे ।

करिब आठ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ६५ फिट अग्लो बुद्ध प्रतिमा सहितको पार्क ११ वर्षपछि सञ्चालनमा आएको हो । १७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क नेपाल, भारत तथा अन्य मुलुकका पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको कार्कीको सचिवालयले जनाएको छ । सो अवसरमा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बरालले पार्क सञ्चालनमा आएसँगै स्थानीय पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । स्थानीय व्यवसायीहरूले पनि पार्क आसपास अन्य पर्यटकीय संरचना निर्माण गरिरहेका छन् ।