पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
दोलखा ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त र विकासमुखी नेताका रूपमा परिचित पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ । दोलखाली जनतासँग लामो समयदेखि जोडिँदै आएका गुरुङलाई यस पटकको निर्वाचनमा एमालेको जितको मुख्य आधारका रूपमा हेरिएको छ । पार्टी संगठन कमजोर पर्दा अगाडि उभिने, नेतृत्व संकटमा परेका बेला काँध थाप्ने र जनताको दुःख–सुखमा सधैँ साथ दिने नेताका रूपमा गुरुङ दोलखामा स्थापित नाम हो । स्थानीय समस्यालाई केन्द्रसम्म पु¥याउने र भूगोलअनुसार विकासको खाका कोर्ने उनको कार्यशैलीले नै दोलखामा निरन्तर जनसमर्थन प्राप्त गर्दै आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।दोलखाको उत्तरी भेग गौरीशंकर

गाउँपालिका–२, सुरीमा वि.सं. २०२५ सालमा जन्मिएका गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम आन्दोलनमा सक्रिय भएका हुन् । जिल्ला तहमा संगठन निर्माण गर्दै एमाले जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनी पार्टी पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज हुँदै केन्द्रीय नेतृत्वमा पुगेका हुन् । हाल उनी पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारीमा छन् । शैक्षिक रूपमा स्नातक तहसम्म अध्ययन गर्नुभएका गुरुङ २०७० सालमा दोलखा–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएको थियो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ऐतिहासिक मतान्तरका साथ विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा गुरुङले ५५ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८ सय ३१ मत मात्र प्राप्त गरेका थिए । यो मतान्तरलाई दोलखामा एमालेको बलियो जनाधारको स्पष्ट सङ्केतका रूपमा लिइन्छ । तथापि त्यति बेला एमालेको तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन थियो ।
संघीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका गुरुङले नीति निर्माणदेखि सेवा प्रवाहसम्म प्रभावकारी भूमिका निर्वाह गर्दै पार्टीभित्र र बाहिर सकारात्मक मूल्याङ्कन हुने गरेको छ । विशेष गरी सञ्चार र सूचना प्रविधिको विस्तार तथा सामाजिक क्षेत्रका नीतिगत सुधारमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

यस पटकको निर्वाचनमा एमालेले स्थिरता, विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ । दोलखाको सडक, विद्युत्, सञ्चार, पर्यटन र रोजगारीका सवाललाई केन्द्रमा राखेर अघि बढ्ने रणनीतिसहित गुरुङ चुनावी मैदानमा होमिएको छ । स्थानीय तहदेखि संघीय तहसम्मको अनुभव भएकाले उनी दोलखाको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सक्षम नेता भएको एमालेको दाबी छ । पार्टी नेतृत्वले समेत गुरुङलाई दोलखामा एमालेको जित सुनिश्चित गर्ने ‘विश्वसनीय उम्मेदवार’ का रूपमा अघि सारेको छ । अघिल्ला निर्वाचनका परिणाम, संगठनमाथिको पकड र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण यस पटक पनि उनको जितले दोलखामा विकासको गतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा पार्वत गुरुङको उम्मेदवारीलाई दोलखामा एमालेको स्थिर राजनीति र दीर्घकालीन विकासको निरन्तरतासँग जोडेर हेरिएको छ । यही कारण, यस निर्वाचनलाई दोलखाली जनताले ‘अनुभव र परीक्षण भइसकेको नेतृत्व’ र ‘नयाँ चुनौतीबिचको राजनीतिक निर्णय’का रूपमा मूल्याङ्कन गर्न थालेका छन् ।




Post Comment