करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
सर्लाही, २५ पुष।
सदरमुकाम मलङ्गवास्थित करदाता सेवा कार्यालय बन्द गर्ने तयारी भएको भन्दै उद्योग वाणिज्य सङ्घ सर्लाहीले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। उद्योग वाणिज्य सङ्घ मलङ्गवा सर्लाहीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाही र करदाता सेवा कार्यालय मलङ्गवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै करदाता सेवा कार्यालय अन्यत्र सार्ने वा बन्द गर्ने कुनै पनि निर्णय मान्य नहुने स्पष्ट गरेको हो।

ज्ञापन पत्रमा उल्लेख भएअनुसार मलङ्गवास्थित करदाता सेवा कार्यालयबाट यस क्षेत्रका करिब २० हजार उद्योगी तथा व्यवसायीले सेवा लिँदै आएका छन्। नियमित रूपमा राज्यलाई कर बुझाउँदै आएका उद्योगी–व्यवसायीलाई सेवा दिइरहेको कार्यालय नै बन्द गर्ने तयारी हुनु दुःखद र आपत्तिजनक भएको सङ्घको ठहर छ। उद्योग वाणिज्य सङ्घ सर्लाहीका कार्यवाहक अध्यक्ष अरुणकुमार कुँवर र महासचिव सुजय रायको हस्ताक्षर रहेको ज्ञापन पत्रमा जिल्लाका व्यापारीहरूले निकै सङ्घर्ष र दौडधुप गरेर स्थापना गरेको कार्यालय बन्द भए उद्योगी तथा व्यवसायीले ठूलो समस्या र हैरानी भोग्नुपर्ने उल्लेख गरिएको छ।

सङ्घले करदाता सेवा कार्यालय बन्द गर्ने निर्णय तत्काल स्थगन गर्न माग गर्दै, बरु मलङ्गवामै आन्तरिक राजस्व कार्यालय स्थापना गर्नुपर्ने माग अघि सारेको छ। करदाता सेवा कार्यालयको नाममा मलङ्गवामै पाँच कठ्ठा जग्गा उपलब्ध रहेको र सोही जग्गामा भवन निर्माणका लागि मधेश प्रदेश सरकारबाट बजेटसमेत प्राप्त भइसकेको अवस्थामा कार्यालय बन्द गर्ने निर्णय कुनै हालतमा स्वीकार्य नरहेको उद्योग वाणिज्य सङ्घ मलङ्गवाले जनाएको छ। सङ्घले आफ्नो माग तत्काल सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।





Post Comment