१० चैत्र २०८२, मंगलवार

हेटौंडा उपमहानगरपालिकामा ३२ करोडको क्षति, जलेकै भवनबाट सेवा प्रवाह

 ८ असोज, हेटौंडा । 

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिकाको भवनदेखि वडा कार्यालयहरुसम्म आगजनी भयो।  कर्मचारीको सवारी साधनदेखि शवबाहन सम्म जल्यो। उपमहानगरपालिकामा रहेका हजारौं कागजपत्र मात्रै होइन, सिंगो नगरको दस्तावेज नै खरानीमा परिणत भयो। उपमहानगरपालिका परिसरमा भर्खरै निर्माण गरिएको सभाहल देखि सरसफाइका सवारीहरुसम्म आगजनी भयो। हेटौंडा उपमहानगरपालिका कार्यालयदेखि वडाहरू समेतमा क्षति पुगेपछि भवन बाहेक ३२ करोड रुपैंया भन्दा बढी क्षति हुन पुगेको तथ्यांक सार्वजनिक गरिएको छ।

उपमहानगरको संरचना तथा सवारीहरुमा क्षति भएपछि क्षतिको विवरण संकलनका लागि नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलले तयार गरेको क्षतिको विवरण अनुसार उपमहानगरपालिकाको कार्यालयमा भएका भौतिक सामाग्रीको क्षति देखि सवारीसम्म गरी कुल ३२ करोड ५० लाख ७० हजार बराबरको क्षति भएको हो।  कार्यदलका संयोजक तिमिल्सनाका अनुसार हेटौंडा उपमहानगरपालिका, सेवा केन्द्र तथा वडा कार्यालयहरुमा रहेका प्राविधिक सामान, फर्निचर, कम्युटर लगाएत सामाग्रीमा क्षति हुँदा ९ करोड ३९ लाख ४२ हजार ५ सय रुपैंया क्षति भएको हो। भौतिक पूर्वाधार तर्फ, सवारी साधन तर्फ, फर्निचर र उपकरण तर्फ गरी समग्रमा ३२ करोड ५० लाख ७० हजार बराबरको सामाग्रीहरु क्षति भएको उनले बताए।  छानबिन समितिले सरोकारवालाहरुसँगको छलफल, स्थलगत अवलोकन गरेर क्षतिको विवरण संकलन गरिएको बताइएको छ। तिमल्सिनाका अनुसार हेटौंडाको ११ र १५ नम्बर वडा कार्यालयमा सबैभन्दा बढी क्षति पुगेको छ भने यहाँका सम्पूर्ण कागजातहरु नष्ट भएको छ।

यस्तै, ३ र ४ नम्बर वडा कार्यालयका सामान बाहिर निकालेर आजगनी गरेको कारण भवन जोगिए पनि सम्पूर्ण कागजात र फर्निचर पूर्ण रुपमा नष्ट भएको समितिको प्रतिवेदन छ।  यस्तै, १० नम्बर र १९ नम्बर वडा कार्यालयमा आगजनी गरिए पनि आंशिक रुपमा क्षति पुगेको कारण कार्य सञ्चालन सुरु भैसकेको बताइएको छ। १३ र ६ नम्बर वडामा सामान्य क्षति पुगेको छ भने उपमहानगरपालिकामा रहेका ३ वटा स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको बताइएको छ।  ४ नम्बर वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र भित्रै आगजनी गरेर सामानहरु तोडफोड भएको पाइएको समितिका संयोजक तिमल्सिनाले बताए। उनका अनुसार १० नम्बर वडा र ३ नम्बर वडामा रहेको स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी हुँदा लाखौंको क्षति पुगेको छ। उपमहानगरपालिकालाई केही समय अघि मात्रै हस्तान्तरण भएको कृषि थोक बजारको प्रशासनिक भवनमा तोडफोड र आगजनी भएको प्रतिवेदनमा उल्लेख छ। उक्त भवनमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको थियो।

उपमहानगरपालिकाको पूर्वाधार क्षेत्रमा मात्रै १६ करोड ३७ लाख ८८ हजार रुपैंया बराबरको क्षति भएको छानबिन समितिको प्रतिवेदन छ। यसबाहेक ठूूलो क्षति सवारी साधनमा भएको समितिले जनाएको छ। उपमहानगरपालिका र वडा कार्यालयहरुमा रहेका २५ वटा स्कुटर/मोटरसाइल र १८ वटा अन्य सवारी साधनहरुमा आगजनी भएको बताइएको छ।  जसमा शव बाहन, सरसफाई सवारी, ट्याक्टर, देखि नगरप्रहरीको सवारी सम्ममा आगजनी भएको पाइएको हो। सवारी साधनतर्फ मात्रै ६ करोड ७३ लाख ४० हजार रुपैंया बराबरको क्षति भएको मूल्यांकन गरिएको बताइएको हो।   त्यसोत, सरकारी संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या भैरहेको जनप्रतिनिधिहरु बताउँछन्। कार्यालयमा रहेका पुराना फाइलदेखि भुक्तानीका लागि राखिएको फाइलहरु समेत जल्दा नागरिकहरुलाई सेवा प्रवाहमै सकस भैरहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपाने बताउँछन्। प्रदर्शनका क्रममा धेरै क्षति पुगेको केही वडाहरुले अझै पनि सेवा सुचारु गर्न सकेका छैनन् भने नगरपालिकामा भने अत्यावश्यक सेवाहरू आगजनी भएकै भवनबाट सुरु गरेको छ। स्वास्थ्य सेवा, प्रशासनिक सेवा, आर्थिक विकास महाशाखाबाट प्रवाह हुने कृषि, पशुपन्छी, उद्योग तथा सहकारी क्षेत्र लगाएतको अत्यावश्यक सेवा प्रवाह भने आगलागी भएकै भवनबाट सुरु गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले जानकारी दिए।  उनका अनुसार अब भवनको जाँच गरेर बस्न योग्य भए रंगरोगन गरेर सबै सेवा सोही भवनबाट सुचारु गर्ने र यदी रातो स्टिकर टाँसिएको खण्डमा वैकल्पिक स्थानको खोजी गरी सेवा प्रवाहलाई सहज बनाइनेछ।

Post Comment

छुटाउनुभयो कि ?