डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
१५ भदौ, धनगढी ।
स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् । शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् । आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले प्रस्ट पारे । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् । ‘चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलगायत केही समय यताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको छ ।’
विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ । ‘मेडिकल शिक्षा जस्तो सम्वेदनशील क्षेत्रको गुणस्तरमा ह्रास आउनुको मतलब जनताको स्वास्थ्य सेवाको गुणस्तरमा ह्रास आउनु हो । अर्थात् आम नेपालीको स्वास्थ्यमा खेलबाड गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ ।
उनले चीन र भारतले नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचार प्रकाशमा आइहेको जिकिर गर्दै सीमा मिचाइको विरोधमा यस अघि पनि सत्याग्रह गरिसकेको स्मरण गराएका छन् । ‘रुसले युक्रेनमाथि सन् २०२२ यता गर्दै आएको निरन्तरको अतिक्रमण, त्यस क्रममा भएका जघन्य तथा मानवताविरुद्धका अपराधहरूको विरोधमा हामीले आवाज उठाउँदै आएका छौँ,’ विज्ञप्तिमा लेखिएको छ ।
‘अघिल्लो वर्ष सुरु भएको गाजामाथिको इजरायली आक्रमण, यस क्रममा उसले गरिरहेको जघन्य र मानवताविरुद्धका अपराध र जातीय सफायाको अभ्यासविरुद्ध पनि हामीहरूले आवाज उठाउँदै आएका छौँ ।’ ‘लिपुलेकमा भइरहेको अतिक्रमण रोकी अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेका नर संहारकारी युद्धहरू रोक्न रुस र इजरायललाई माग राख्दै मैले आज यही भदौ १५ गते आइतबारदेखि तीन दिने सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ विज्ञप्तिमा केसीले उल्लेख गरेका छन् ।









Post Comment