वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व प्रचण्डले गरिरहेका छन्ः सचिव महासेठ
२२ असार, काठमाडौं ।
नेकपा एमाले सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा लागिरहेको बताउनु भयो । वर्तमान सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व अध्यक्ष दाहालले गरिरहनुभएको बताउनु भयो ।
अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीहरुले सहयोग गरिरहेको पनि बताउनु भयो । वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरु पनि रहेको उहाँको आरोप छ । तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको बताउनु भयो । सचिव महासेठले भन्नुभयो, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष मान्य पुष्पकमल दाहालज्युले गरिरहनुभएको छ । उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरु पनि छन् । स्वतन्त्र सांसदहरु पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीहरु पनि छन् । त्यो सँगसँगै यो सरकारलाई यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही मान्यजीहरु पनि हुनुहुन्छ ।
जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा उहाँहरु क्रियाकलाप गरिरहनुभएको छ । मधेस प्रदेशका केही समानुपातिक सांसदहरु यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यो गठबन्धनको विरोध गरिरहेको छ । तर उहाँहरुको विरोधले अहिलेसम्म यो सरकार प्रतिकुल अवस्थामा पुगेको छैन । किनभने अहिले नेपाली काँग्रेसका सभापति मान्य शेरबहादुर देउवाजी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा जुन एउटा तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ । ’सचिव महासेठले देशमा अहिलेको भन्दा कुनैपनि गठबन्धनको विकल्प नरहेको बताउनु भयो ।
Post Comment