सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व
२१ असार, सिरहा ।
सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व संकलन भइसकेको छ, जुन चालु आर्थिक वर्षको कुल लक्ष्य १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार रुपैयाँ बढी हो ।
भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मंसिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो । उनले भने, ‘मंसिरमा मात्र ९४ प्रतिशत राजस्व संकलन भएको थियो । बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी संकलन भएको छ ।’ उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व संकलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ । सापकोटाले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आर्थिक वर्ष सकिँदासम्म १५ प्रतिशत बढी राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।
राजस्व संकलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन् । तर, प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ । सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीनवटा भन्सार कार्यालयलाई सेवा दिइनेछ । यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ ।
Post Comment