१४ असार २०८२, शनिबार

बरहथवामा आमरण अनसनरत राजन सिंह अस्पताल भर्ना

 

सर्लाही, जेठ ३१

बरहथवामा पाँच बुँदे माग अघि सार्दै तीन दिनदेखि आमरण अनसनमा रहेका जनमत पार्टी बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको छ।

जेठ २९ गतेदेखि बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका सिंह अत्यधिक गर्मीका कारण शारीरिक अवस्था बिग्रिएपछि आज बिहान बरहथवास्थित नगर अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार उनको रक्तचाप अस्थिर रहेको र नियमित निगरानीमा राखिएको छ।

सिंहले डेढ वर्षअघि प्रहरीको गोलीबाट मृत्यु भएका जयशङ्कर साहको सम्झनामा सालिक निर्माण गर्नुपर्ने र नगर अस्पतालको नाम ‘जयशङ्कर नगर अस्पताल’ राख्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका थिए। २०८० पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको माग गर्दै गरिएको आन्दोलनमा प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशङ्करको मृत्यु भएको थियो। उक्त घटनापछि केही समय बरहथवा तनावग्रस्त बनेको थियो।

सिंहले त्यसबेला जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनको बाटो रोज्दै आमरण अनसन सुरु गरेका हुन्। उनका अन्य मागहरूमा अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने, नगरपालिकाको पछिल्लो तीन वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नु पर्ने र नगर अस्पताल निर्माणका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गर्नु पर्ने रहेका छन्।

अनसनको तेस्रो दिन हिजो बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल अनसनस्थल पुगेकी थिइन्। उनले सिंहका मागहरूमाथि सम्वोधन गरिने मौखिक प्रतिबद्धता जनाए पनि सिंहले आफूमाथि यकिन हुने लिखित प्रतिबद्धता नभएसम्म अनसन नछाड्ने अडान लिएका छन्।

हाल सिंहको उपचार नगर अस्पतालमा भइरहेको छ भने जनमत पार्टीका कार्यकर्ताहरूले उनको माग तत्काल सम्वोधन गर्न स्थानीय प्रशासन र नगरपालिकालाई आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment