अनुसन्धान प्रहरी अभियोजनकर्ता बिच समन्वय जरुरी छः गृहमन्त्री
३० जेठ, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबिच ठिक ढङ्गको समन्वय हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले दुई पक्षबिच निरन्तर समन्वय हुन जरुरी रहेको बताए। समिति र स्रोत र साधनमा धेरै काम प्रहरीले गर्नुपरेको उनको भनाई छ ।
“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु समिति र स्रोत र साधनमा काम गर्नुपरेको छ” उनले भने,“ सरकारले पर्याप्त ध्यान दिदैछ, दिन्छ ।” उनले आगामी आर्थिक वर्षको बजेटमा तुलनात्मक रुपमा बजेटमा प्रहरीतर्फ उल्लेखनीय वृद्धि भएको जानकारी समेत दिए। मन्त्री लेखकले विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताए। अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ। त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ।
विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो” उनले भने। लेखकले विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको बताए।“अभियोजनको क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ ।” उनले भने,“ विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।” फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्त्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाई छ ।
Post Comment