२५ जेष्ठ २०८२, शनिबार

सप्तरीमा डाँका समूहद्वारा एक जनाको ह*त्या, नगद र गहना लुटपाट

२३ जेठ, विराटनगर ।

सप्तरीमा डाँका समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । एक जना घाइते भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् ।

उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ । घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४–५ जनाको समूहमा रहेको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए । लुटपाटको प्रतिकार गर्दा घर धनी चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।

त्यसपछि डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०/६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् । डाँका समूहले आक्रमण गरेको जानकारी शुक्रबार बिहान १ः२० बजे पाएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली पनि घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि नौ जनाको टोली खटिएको थियो । घटनास्थलमा प्रहरीले नपड्किएको ३ राउन्ड गोली र १ राउण्ड गोलीको खोका समेत फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?