३ जना सांसद निलम्बित, १ फरार
१ जेठ, काठमाडौं ।
निलम्बित हुने प्रतिनिधि सभा सदस्यको संख्या ३ पुगेको छ । ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट निर्वाचित भएकामध्ये ३ जना सांसद निलम्बनको अवस्थामा रहन पुगेका हुन् । बिहीबार नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ । टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।
बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । अन्य २ जना सांसद यस अगाडि देखि नै निलम्बनमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछाने निलम्बनमा छन् । सम्पति शुद्धीकरणको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।लामिछाने ८ पुस २०८१ देखि निलम्बनमा छन् । उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् ।नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन् । सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्ष देखि फरार छिन् । बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।
Post Comment