सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
३० वैशाख, काठमाडौँ :
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन्। मंगलवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने बताइन्। उनले संवादमा ३५० जना सहभागी रहने जानकारी दिइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने बताइन्।
संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको बताइन्। मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। तयारीस्वरूप सरकारले करिब १० वटा पूर्व संवाद कार्यक्रम आयोजना गरेको बताउनु भयो। जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्रि संवाद लगायत रहेका छन्। तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन्।
साथै चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने मन्त्री राणाले बताइन्। १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ। कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्ताराष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको बताइन्।
Post Comment