२५ जेष्ठ २०८२, शनिबार

खानेपानी आयोजनामा कर्णाली सरकारको ९४ करोड

 

२८ वैशाख, सुर्खेत :

 कर्णालीका दुईवटा ठूला खानेपानी आयोजनामा कर्णाली प्रदेश सरकारले पनि लगानी गर्ने भएको छ। यसअघि स्थानीय र संघीय सरकारको साझेदारीमा अगाडि बढेका ती आयोजनामा प्रदेश सरकारले लगानी गर्ने भएको हो। दुवै आयोजनामा गरी प्रदेश सरकारले ९४ करोड बजेट लगानी गर्ने छ।  यी आयोजनामा लगानी गर्ने गरी संघीय सरकारको तर्फबाट खानेपानी मन्त्रालय र प्रदेश सरकारको तर्फबाट जलस्रोत तथा ऊर्जा मन्त्रालयबीच सम्झौता भएको छ।

सम्झौताअनुसार प्रदेश सरकारले वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको बहुचर्चित भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा ८० करोड ४१ लाख रुपैयाँ लगानी गर्नेछ। यस्तै सल्यानको शारदा नगरपालिकामा सञ्चालन हुने खानेपानी आयोजनामा प्रदेश सरकारले १३ करोड ७३ लाख रुपैयाँ लगानी गर्नेछ। यी दुवै आयोजनामा गरी ९४ करोड १४ लाख बजेट लगानी गरिने प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारले अबका चार आर्थिक वर्षमा यो बजेट लगानी गर्ने छ। प्रदेश राजधानी वीरेन्द्रनगर र सल्यानको सदरमुकाम शारदा नगरपालिकामा हाल खानेपानीको संकट छ। यही संकट टार्न यी आयोजना अगाडि बढ्दै छन्। मुख्यमन्त्री यामलाल कँडेलले यी खानेपानी आयोजनामा प्रदेश सरकारले ९४ करोड बजेट लगानी गर्न लागेको जानकारी दिए। चार वर्षभित्र यी आयोजनाहरू निर्माण सम्पन्न भएर सञ्चालनमा आउने र यसले बढ्दो खानेपानीको अभावलाई टार्ने मुख्यमन्त्री कँडेलको भनाइ छ। खानेपानीको संकट टार्न प्रदेश सरकारले पनि लगानी गर्न लागेको भन्दै उनले यी आयोजनाहरू समयमै सम्पन्न गर्न सहजीकरण गरिने उनले जानकारी दिए।

संघीय खानेपानी मन्त्रालय र प्रदेशको जलस्रोत तथा ऊर्जा मन्त्रालयबीच मंगलबार ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लागत सहभागितामा साझेदारी गर्ने’ सम्झौता भएको हो। वीरेन्द्रनगरमा जनसंख्या वृद्धिसँगै खानेपानीको संकट गहिरिँदै गएको छ। यही संकटको दिगो समाधानका लागि भेरी नदीको पानीलाई पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागिएको छ। भेरी नदीको पानी उपत्यकामा ल्याउन संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाले साझेदारीमा बजेट व्यवस्थापन गरिरहेका छन्। अब प्रदेश सरकाले पनि बजेट व्यवस्थापनमा साझेदारी गर्ने भएको हो। भेरी पम्पिङ आयोजनामा कुल ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो आयोजनामा पहिलो चरणको कामका लागि गत भदौमा चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसनले जिम्मा पाएको छ।  उक्त कम्पनीसँग ३ अर्ब ५ करोड ८ लाख रुपैयाँमा सम्झौता भएको भएको छ। दुई खण्डमा काम गरेर सम्पन्न हुने यो आयोजनामा केन्द्र सरकारले ८० प्रतिशत तथा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले गरी २० प्रतिशत लगानी जुटाउनुपर्ने छ।

यस्तै सल्यानको सदरमुकाममा पनि खानेपानी संकट छ। यही संकट टार्न शारदा नगरपालिकामा वृहत खानेपानी आयोजना सञ्चालन हुँदैछ। कुल १ अर्बको लागतमा निर्माण हुन लागेको यो आयोजनामा पनि प्रदेश सरकारले लगानी गर्ने भएको हो। प्रदेश सरकारले यो आयोजनामा चार आर्थिक वर्षमा गरेर १३ करोड ७३ लाख रुपैयाँ लगानी गर्नेछ। यो आयोजनामा शारदा नगरपालिकाले पनि १३ करोड बजेट खर्च गर्ने मेयर प्रकाश भण्डारीले जानकारी दिए। उनका अनुसार बाँकी बजेट संघीय सरकारले लगानी गर्नेगरी सम्झौता भएको छ। कसरी ल्याइँदै छ भेरीको पानी ?  वीरेन्द्रनगर प्रदेशको राजधानी रहेको नगरपालिका हो। तर यहाँ खानेपानीका स्रोत सीमित छन्। तर जनसंख्या दिनहुँ बढ्दो छ। यहीकारण पनि आगामी २५ वर्ष अर्थात् सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ भेरी नदीको पानी पम्पिङ गरेर ल्याइँदै छ।

आयोजनाको पहिलो चरणको काममा भेरीमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरो दुईवटा इन्टेक निर्माण गरिने छन्। त्यसपछि इन्टेकदेखि करिब चार सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण हुनेछ। यस्तै सात किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा मुख्य रिजर्भ ट्यांकी निर्माण हुनेछन्। पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछ। दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गर्ने योजना छ। भेरीको पानी चार सय मिटर उचाइमा प्रशोधन ट्यांकीमा खसालिनेछ। त्यसपछि ट्यांकीको पानी करिब सात किलोमिटर लामो पाइपबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्यांकीमा खसालिनेछ। ५ सय ५० मिलिमिटर प्रतिसेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म विस्तार गरिनेछ। अमृतडाँडामा ३० लाख क्षमताका तीन वटा रिजर्भ ट्यांकी निर्माण हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?