बरहथवाका ११ अवैध निजी अस्पताल बन्द गर्न निर्देशन
४ वैशाख, सर्लाही।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको बरहथवा बजारमा सञ्चालित ११ वटा निजी स्वास्थ्य संस्थालाई मापदण्डविपरीत सञ्चालन गरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएका छन्। मंगलबार साँझ एक बिरामीले अत्यधिक बीलको विरोध जनाएपछि उत्पन्न तनावका बीच मुख्यमन्त्री सिंह स्वयम् बरहथवा पुगेर ती अस्पतालहरूको आकस्मिक अनुगमन गरेका थिए। अनुगमनको क्रममा सङ्कटमोचन हेल्थकेयर प्रा.लि, एडभान्स सञ्जीवनी होस्पिटल प्रा.लि, ह्याप्पी मेडिकेयर होस्पिटल प्रा.लि, सर्लाही गोल्डेन होस्पिटल प्रा.लि, भेनस हेल्थकेयर प्रा.लि, हनुमन्त होस्पिटल प्रा.लि, बरहथवा नवजीवन होस्पिटल प्रा.लि लगायत अन्य चार पोलिक्लिनिक मापदण्ड नपु¥याई सञ्चालनमा आएको पुष्टि भएपछि बन्दको आदेश दिइएको हो।
मुख्यमन्त्री सिंहले अनुगमनपछि संलग्न सम्पूर्ण संस्थाहरूलाई आवश्यक प्रक्रिया पुरा नगरी सञ्चालन नगर्न कडाइका साथ निर्देशन दिएका छन्। “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अव्यवस्थित र अवैध रूपमा सेवा प्रवाह गर्नु सर्वस्वीकार्य हुँदैन,” मुख्यमन्त्री सिंहले भने, “दर्ता, पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य मापदण्ड पूरा नगरी कुनै पनि अस्पताल सञ्चालन गर्न दिइने छैन।”
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सम्बन्धित सबै संस्थालाई औपचारिक रूपमा पत्र काटी तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको छ। अब दर्ता तथा प्राविधिक मापदण्ड पूरा गरी मात्र पुनः सञ्चालनको अनुमति दिइने बताइएको छ।
मुख्यमन्त्री सिंह यसअघि पनि सर्लाहीकै नवलपुर, लालबन्दी र मलंगवामा रहेका विभिन्न निजी अस्पतालहरूको निरीक्षण गरी अव्यवस्थित स्वास्थ्य सेवा बन्द गराएका थिए। तर, निर्देशन दिए पनि ती अस्पतालहरू पुनः खुलेर चलिरहेका गुनासा प्रदेशभरबाट आइरहेका छन्।
Post Comment