पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
२ वैशाख, पोखरा –
पोखरा महानगरको स्वास्थ्य महाशाखामा हटाइएका करार कर्मचारीले तालाबन्दी गरेका छन्। माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो। विना कारण हटाइएको भन्दै उनीहरुले ९ बुँदे माग राखेका छन्।
गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो। विना कारण निष्काशित करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्नुपर्ने, सेवा करारका स्वास्थ्यकर्मी/कर्मचारीको कानुनी हक हितको ग्यारेण्टी गर्नुपर्ने, पोखरा महानगरपालिकामा संस्थागत सुशासन र विधिको शासन कायम गर्नुपर्ने माग कर्मचारीको छ। महानगरले बनाएको संगठन तथा व्यवस्थापन सर्वेक्षण तुरुन्त कार्यन्वयन गर्न पनि दवाव दिएका छन्।
स्वास्थ्यकर्मी हटाएर कर्मचारी विहीन स्वास्थ्य महाशाखा नचलाउन उनीहरुको चेतावनी छ। सर्वोच्च अदालतले समग्र करार कर्मचारी हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। उक्त आदेश कार्यान्वयनको माग स्वास्थ्यकर्मीको छ। जागिरबाट हटाइएपछि माघ पहिलो सातादेखि उनीहरु आन्दोलित छन्। महानगरले एकैपटक ६१ स्वास्थ्यकर्मीको करार सम्झौता नगर्ने निर्णय गरेको थियो। हटाइएका कर्मचारीले सर्वोच्च समेत गुहारे।
Post Comment