रूपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस
१० माघ, रुपन्देहीको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानको आज (बिहीबार)देखि थुनछेक बहस शुरू हुने भएको छ । रकम अपचलनमा प्रतिवादी बनाइएका पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेतटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बुधबार बयान लिएर परिवारको जिम्मा लगाइएको थियो ।
न्यायाधीश प्रह्रादकुमार योगीले लामिछानेको बयान लिएका थिए । आज थुनछेक बहस हुने जिल्ला अदालत रुपन्देहीका वैतानिक वकिल कृष्णप्रसाद ढकालले जानकारी दिए । बहसपछि रविलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्नेमध्ये एउटा आदेश गर्नेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा गएको आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । सहकारी ठगीमा जाहेरी परेपछि अनुसन्धानको सिलसिलामा लामिछाने कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
पक्राउ परेको ८४ दिनपछि जिल्ला अदालत कास्कीले उनलाई पुस २५ गते धरौटीमा रिहा गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछाने ३ दिन प्रहरी हिरासतमा बसेका थिए । काठमाडौंमा पनि उनी अदालतको आदेशअनुसार ६० लाख धरौटी तिरेर रिहा भएका थिए । लामिछानेसहित २२ जनाविरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ । यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी)लाई पनि विपक्षी बनाइएको छ ।
रुपन्देही अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगिएको उल्लेख छ । त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
Post Comment