महोत्तरीको सोनमा गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप
१९ भदौ, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
मंगलबार दिउँसो तीन बजे सोनमा मध्यामिक विद्यालयका विद्यार्थीले गाउँपालिका कार्यालयमा तोडफोड गर्न थालेपछि झडप भएको हो। तीन शिक्षकलाई सरूवा गरेपछि बिहानदेखि विद्यार्थी र स्थानीयले कार्यालय घेराउ गरेका थिए। त्यही क्रममा उनीहरूले प्रहरीको गाडीमा ढुङ्गामुढा र दुइटा मोटरसाइकलमा आगो लगाइदिएपछि झडप भएको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताए।
‘झडपले ठूलो रूप लिँदा नियन्त्रणमा लिन थोरै बल प्रयोग गरिएको हो,’ एसपी मल्लले भने। आगलागी नै गरेपछि झडपलाई न्यूनीकरण गर्न उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले १८ वटा अश्रुग्यास प्रयोग गरेको एसपी मल्लले जानकारी दिए। उक्त झडपमा ७ जना प्रहरी घाइते भएका छन् भने विद्यार्थी र स्थानीय कति घाइते भए भन्नेबारे खुलेको छैन। अहिले कार्यालयलाई कडा सुरक्षामा राखिएको छ। झडप रोकिए पनि अवस्था सामान्य नभएको उनले जानकारी दिए।