साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
२३ भदौ, जनकपुरधाम । साक्षरता दिवसको यस विशेष अवसरमा, म सम्पूर्ण जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
साक्षरता अक्षरको मात्रको ज्ञान नभएर समाजमा चेतना, आत्मविश्वास, र व्यक्तित्वको विकास गर्ने आधार हो । एक साक्षर व्यक्ति मात्र समाजको समुचित विकासमा सहायक सिद्ध हुन्छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री साक्षरता अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानबाट मधेश प्रदेशका सबै नागरिकलाई साक्षर बनाउने उद्देश्य लिइएको छ । तसर्थ हामी सबैले शिक्षाको महत्त्व बुझेर प्रत्येक नागरिकलाई साक्षर बनाउन कटिबद्ध हुनु जरुरी छ । मधेशमा साक्षरताको अवस्था विगतका वर्षहरूमा केही सुधार भए तापनि अझै चुनौतिपूर्ण छ ।
मधेश प्रदेशका कुनै पनि जिल्ला हालसम्म साक्षर घोषणा हुन सकेका छैनन् । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय निकायहरूद्वारा साक्षरताको स्तर उकास्न विभिन्न प्रयासहरू भइरहेका छन्, तर आर्थिक, सामाजिक, र सांस्कृतिक कारणहरूले गर्दा मधेशमा साक्षरता बढाउने काम अपेक्षाकृत चुनौतिपूर्ण नै देखिएको छ । कम साक्षरता दर मधेश प्रदेशको प्रमुख चुनौति छ । ग्रामीण क्षेत्र र सीमित शैक्षिक पहुँच भएका मधेशी समुदायहरूमा अझै पनि साक्षरता दर राष्ट्रिय औसतभन्दा तल छ । विशेष गरी महिलाहरू र पिछडिएका जातीय समूहमा यो समस्या तीव्र छ ।
प्रदेशमा लैंगिक असमानता पनि अर्को समस्या हो । मधेशमा महिला साक्षरता पुरुषको तुलनामा कम छ । परम्परागत सामाजिक संरचना, बालविवाह, र महिलाहरूको शिक्षामा कम प्राथमिकताजस्ता कारणहरूले महिलाहरूको साक्षरता दरमा ठूलो असमानता छ । साक्षरतालाई प्रभावित गर्नेमा गरिबी र रोजगारजस्ता चुनौति पनि छन् । बाल्यकालमै काम गर्नुपर्ने बाध्यताले पनि बालबालिकाहरूको शिक्षामा अवरोध उत्पन्न गरेको छ । धेरैजसो बालबालिका पढ्नभन्दा काममा लाग्न बाध्य छन्, जसले गर्दा साक्षरता दरमा प्रतिकूल असर परेको छ ।
शिक्षामा पहुँच र अवसरको कम वितरण, मधेशी भाषाको शिक्षामा कमी, र स्थानीय समुदायमा शिक्षासम्बन्धी चेतनाको अभावले पनि साक्षरता अभियानमा चुनौतिहरू थपिएका छन् । प्रदेश सरकार साक्षरता अभिवृद्धिका लागि निरन्तर प्रयासरत छ र हामी प्रत्येक नागरिकलाई शिक्षित बनाउने लक्ष्यका साथ अघि बढिरहेका छौ ं। आउनुहोस्, यस अवसरमा हामी सबैले शिक्षालाई समाजको प्राथमिक अधिकारका रूपमा सुनिश्चित गर्दै अगाडि बढौं ।
Post Comment