सहिदमार्ग अन्तर्गत रोल्पाको पुतलाचौर/ग्राम्जिममा निरन्तर पहिरो झर्दा सडक अवरुद्ध देखिन्छ । दुल्लु–जुम्ला सडक अन्तर्गत दैलेख बागदुल्लामा माथिबाट आएको पहिरोले सडक बन्द रहेको पाइएको छ । यसैगरी भेरी करिडोर अन्तर्गत नै डोल्पा चुगाढ खोलामा सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोशी राजमार्गको संखुवासभास्थित अल्फटेमा समेत सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक कोदारी र घट्टेखोला नजिक सडक बन्द छ । १० असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य सरकारले भने १० असोजभित्र अवरुद्ध राष्ट्रिय राजमार्ग र मुख्य सडक पुन: सञ्चालनमा ल्याइ सक्ने लक्ष्य लिएको छ । आइतबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७१औं बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन र प्रभावित राजमार्गको पूर्ववत् सञ्चालनबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रविलाल शर्माले जानकारी दिए ।उनका अनुसार बैठकले सडक विभागबाट सडक दुर्घटना तथा सडक सञ्जालसँग सम्बन्धित विपद् जोखिम व्यवस्थापन गर्न आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको छ । विभिन्न अवरुद्ध राष्ट्रिय राजमार्ग तथा मुख्य सडक १० असोजभित्र पुन: सञ्चालनमा ल्याउने निर्णय समेत गरेको हो । त्यसका लागि तीव्र गतिमा काम गर्ने निर्णय गरिएको छ । पुल र सडक भार बहन क्षमताभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालनका कारण पुल र सडकमा क्षति हुन नदिन र विभिन्न कारण अवरुद्ध भई आवागमन प्रभावित हुन नदिन जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियमित जाँच र निरीक्षण गर्ने निर्णय समेत बैठकले गरेको छ ।




प्रतिक्रिया