सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात

सारांश

  • २८ असार, काठमाडौं ।
  • सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रुको अवस्था अझै अज्ञात नै छ ।
  • गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए ।

२८ असार, काठमाडौं ।

सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रुको अवस्था अझै अज्ञात नै छ । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका थिए । ती दुई बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी बेपत्ता भएका थिए । दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए ।

तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन् । बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन् । त्यस्तै, बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए ।

तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो । उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो ।

तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन् ।  त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन । त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?