दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला

सारांश

  • प्रसाईंका कार्यकर्ताले विश्नोईको नाम लिएर व्यापारीसँग हिन्दी भाषामा कुराकानी गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनीप्रति अनुसन्धान सोझाएको छ।
  • प्रहरीले कुराकानीको श्रव्य सामग्रीसमेत फेला पारेको दाबी गरेको छ।
  • ‘कुराकानीको अडियोसमेत फेला परेको छ’, प्रहरी स्रोतले भन्यो।

 

१३ मंसिर,  काठमाडौँ,  प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा माग्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ। प्रसाईंका कार्यकर्ताले विश्नोईको नाम लिएर व्यापारीसँग हिन्दी भाषामा कुराकानी गरेको निष्कर्ष निकाल्दै प्रहरीले उनीप्रति अनुसन्धान सोझाएको छ। प्रहरीले कुराकानीको श्रव्य सामग्रीसमेत फेला पारेको दाबी गरेको छ।

‘कुराकानीको अडियोसमेत फेला परेको छ’, प्रहरी स्रोतले भन्यो। विश्नोईको नाममा धम्की खेपेका चारजनाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी दिएपछि यस विषयमा अनुसन्धान सुरु भएको हो। ‘दुर्गा प्रसाईका खासखास मानिसले नै व्यापारीसँग विश्नोईको नाम लिएर पैसा मागेको पाइयो’, स्रोतले भन्यो, ‘यसको अनुसन्धान नतिजा केही दिनमा आउनेछ।’ स्रोतका अनुसार प्रसाईंले ललितपुरको एक होटलबाट केही व्यापारीसँग चन्दा उठाएका थिए। ‘प्रसाईंले चन्दा लिएको पनि आभास भएको छ,’ स्रोतले भन्यो। प्रहरीले यही विषयलाई प्रमाण मानेर आपराधिक लाभसम्बन्धी आरोपमा पनि प्रसाईंमाथि अनुसन्धान सुरु गरिसकेको छ।

सिआइबीका प्रमुख एआइजी दीपक थापाले अनुसन्धान भइरहेको विषयमा धेरै कुरा बोल्न नमिल्ने बताए। ‘अनुसन्धान भइरहेको छ, धेरै कुरा बोल्न मिल्दैन’, उनले भने। प्रहरीका अनुसार प्रसाईंका कार्यकर्ताले दुबई र भारतका टेलिफोन नम्बरबाट विश्नोईको नाममा धम्काएर व्यापारीसँग चन्दा मागेका थिए। प्रहरीले ठाडो उजुरी लिएर यस विषयमा दुई साताअघिबाटै अनुसन्धान गरिरहेको छ। प्रसाईं पक्राउ नपर्दै प्रहरीमा ठाडो उजुरी परेको थियो। त्यतिबेला प्रहरीले प्रसाईंलाई अनुसन्धानमा राखेको थिएन। प्रहरीले धम्की दिनेहरूको नम्बर विश्लेषण गर्दा उनीहरू प्रसाईंसँग जोडिएको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो।

प्रसाईंका कार्यकर्ताले मारवाडी समुदायका व्यापारीसँग धेरै चन्दा मागेका थिए। चन्दा माग्नेले विश्नोईको नाममा हिन्दी भाषामा कुराकानी गरेका थिए। व्यापारीहरूले पनि प्रहरीलाई दिएको अडियोमा हिन्दी भाषाबाटै कुराकानी गरेको सुनिन्छ। विश्नोईको नामबाट केही सरकारी कर्मचारीलाई पनि धम्की आएको प्रहरीको दाबी छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एकस्टर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुरमा उपदफा ३ (ख) बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो दोष लगाउने नियतले डर त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने प्रावधान छ। प्रसाईंले यसरी चन्दा लिएको र धम्क्याएको पुष्टि भएमा उनीमाथि यही कानुन आकर्षित हुने प्रहरीको दाबी छ।

भारतीय गुन्डानाइके विश्नोईले ठगी, फिरौती, असुली, गुन्डागर्दी र हत्या अभियोगमा जेल सजाय भोगिरहेका छन्। पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए। विश्नोईले सेन्ट्रल जेलबाटै आपराधिक गिरोह परिचालन गरेको खुलेपछि उनलाई तिहाड जेल सारिएको हो। उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि चन्दा माग गर्दै ज्यान मार्ने धम्की दिएको भारतीय प्रहरीको दाबी छ।प्रसाईंको विषयमा अनुसन्धानमा खटिएका सिआइबीका एक अधिकृतका अनुसार विश्नोईलाई नेपालतिर हेर्ने फुर्सद नै छैन। प्रसाईंका कार्यकर्ताले नेपाली व्यापारीलाई विश्नोईको नाम लिएर धम्की दिएका मात्र हुन्। ‘हामीलाई शंका पहिला नै थियो– लरेन्स विश्नोईको नाम लिएर अरू कसैले धम्क्याएको हुनसक्छ।

यो शंका प्रमाणित हुने क्रममा छ’, ती अधिकृतले भने, ‘दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानलाई सहयोग गर्नुपर्‍यो, चन्दा दिनुपर्‍यो भन्दै धम्काइएको व्यापारीहरूले बताएका छन्।’प्रसाईंलाई प्रहरीले यही मंसिर ४ गते विद्युतीय अपराध नियन्त्रण ऐनविपरीतको कसुर आरोपमा पक्राउ गरेको थियो। उनीमाथि आपराधिक लाभका लागि धम्की दिएको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रसाईंलाई सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब रूपैयाँ लगानी रहेको भन्दै सामाजिक सञ्जालमा भिडिओसहितका सामग्री राखेका थिए। प्रसाईंले कम्बोडियाको टेलिकममा ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको ती स्क्रिनसटको सत्यतामाथि प्रश्न उठाइएको छ।

सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त आइडीमा हालिएको भिडिओमा ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ। प्रसाईंले मंसिर ३ गते त्यो भिडिओ सार्वजनिक गरेका थिए। प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरेको भिडिओमा प्रधानमन्त्री ओलीको हस्ताक्षर र नाम प्रचलनअनुसारको छैन। गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
सुन तस्करीको आरोपमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
एमाले धादिङको अधिवेशन १ फागुनबाट सुरु हुने
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन
मधेश प्रदेश बजेटमा भएको त्रुटि छानबिन गर्न कार्यदल गठन
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु
सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने
सुधन गुरुङमाथि छानबिन चाँडै हुन्छ: रवि लामिछाने