मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, यातायात अवरुद्ध
सारांश
- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा मंगलबार बिहान सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
- पहिरोका कारण सडक दुवैतर्फबाट बन्द भएपछि सयौं सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन्।
- सडक अवरुद्ध भएसँगै यात्रुहरूले सास्ती खेप्नुपरेको छ भने सवारीसाधनको लामो लाइन लागेको छ।
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा मंगलबार बिहान सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
पहिरोका कारण सडक दुवैतर्फबाट बन्द भएपछि सयौं सवारीसाधन र यात्रुहरू बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएसँगै यात्रुहरूले सास्ती खेप्नुपरेको छ भने सवारीसाधनको लामो लाइन लागेको छ।

पहिरो खसेलगत्तै सडक खुलाउन सम्बन्धित निकायले डोजर तथा आवश्यक उपकरण परिचालन गरेको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ।
कार्यालयले खहरे खोला क्षेत्रमा गएको सुख्खा पहिरोका कारण सडक दुवैतर्फबाट अवरुद्ध भएको जानकारी दिँदै तत्कालै मेशिन परिचालन गरिएको जनाएको छ। कार्यालयका अनुसार अबको करिब डेढ घण्टाभित्र पहिरो हटाएर सवारी आवागमन पुनः सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

सडक डिभिजन कार्यालयले यात्रु तथा चालकहरूलाई धैर्य गर्न आग्रह गर्दै सुरक्षित रूपमा आफ्नै स्थानमा शान्त भई बस्न अनुरोध गरेको छ।
वर्षायाम सुरु भएसँगै पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पटक–पटक पहिरो खस्ने क्रम बढेको छ। मुग्लिन–नारायणगढ सडकखण्ड देशको प्रमुख यातायात मार्गमध्ये एक भएकाले यहाँ हुने अवरोधले लामो दूरीका यात्रु र ढुवानी सेवामा समेत प्रत्यक्ष असर पर्ने गरेको छ।
प्रतिक्रिया