मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
सारांश
- सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ ।
- वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।
- सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् ।
१ साउन, काठमाडौं ।
सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ । वार्तापछि लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । सिंहदरबारमा जारी वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् । सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्य छन् । यसैगरी मिटरब्याज पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन् ।

सो टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी छन् । हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो। हिजोको सोही छलफल र सहमतिलाई जग मानेर आज अन्तिम सम्झौताको तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया