सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
१८२ पटक हेरिएको
Shares
सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

सारांश

  • सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५, हरकठवाका फेकु दासलाई प्रहरीले आफ्नै कार्यालयमा थुनेर निर्घात कुटपिट गरेको हो।
  • स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा दासका दुई छोरा अध्ययनरत थिए।
  • दासले दुवै छोरालाई अर्को विद्यालयमा भर्ना गरेपछि विद्यालय प्रशासनले १३ हजार ६ सय रुपैयाँ शुल्क नतिरेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए।

सर्लाहीमा निजी विद्यालयको शुल्क विवादका विषयमा सोधपुछका लागि बोलाइएका एक सर्वसाधारणलाई प्रहरीले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५, हरकठवाका फेकु दासलाई प्रहरीले आफ्नै कार्यालयमा थुनेर निर्घात कुटपिट गरेको हो।

स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा दासका दुई छोरा अध्ययनरत थिए। दासले दुवै छोरालाई अर्को विद्यालयमा भर्ना गरेपछि विद्यालय प्रशासनले १३ हजार ६ सय रुपैयाँ शुल्क नतिरेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा निवेदन दिएका थिए।

विद्यालय प्रशासनको निवेदनमाथि आवश्यक सोधपुछ तथा छलफलका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो।

पीडित दास आफ्नी श्रीमतीसहित बुधबार दिउँसो इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए।

प्रहरी कार्यालयमा पुगेका दासलाई प्रहरीले कागजातमा हस्ताक्षर गर्न आग्रह गरेको थियो। तर आफूले विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको दाबी गर्दै दास दम्पतीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। त्यसलगत्तै सोही प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रामजीवन पासवानले दासलाई कार्यालयको थुनुवा कक्षमा लगेर बाँसको भाटा र बुटले मरणासन्न हुने गरी कुटपिट गरेको पीडितका दाजु इन्दल दासले आरोप लगाए।

प्रहरीको कुटपिटबाट दासको बायाँ हात, तिघ्रा तथा पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल बरहथवास्थित हनुमन्त अस्पताल लगिएको भए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको पीडितका दाजु इन्दल दासले बताए।

घटनाबारे प्रतिक्रिया दिँदै इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गरे। उनले सोही विवादका क्रममा कुटपिटको घटना भएको बताए।

यसैबीच जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी भएको बताउँदै प्रारम्भिक विवरणअनुसार दासले प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न हुँदा प्रहरीले बल प्रयोग गरेको बताए। उनले घटनामा संलग्न प्रहरी जवान पासवानलाई इलाका प्रहरी कार्यालय बरहथवामा तानेर थप अनुसन्धान भइरहेको जानकारी दिए।

यता बोर्डिङ स्कुलका सञ्चालक संजय साहले दाससँग पटक–पटक विद्यालयको शुल्क माग्दा पनि नदिएपछि जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको बताए। नागरिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?