प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
२२ पटक हेरिएको
Shares
प्रतिनिधिसभा पुनर्स्थापना गरेर प्रधानमन्त्री बन्ने दाउमा देउवा

सारांश

  •   २१ फागुनको चुनावमा सहभागी हुने संस्थागत निर्णय गरिसकेको नेपाली कांग्रेसको संस्थापन पक्ष भने प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जोडबल गरिरहेको छ ।
  • सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरू प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् ।
  • प्रतिनिधिसभा पुनर्स्थापना भए पार्टीको १५औँ महाधिवेशन सार्न र आन्तरिक किचलो व्यवस्थापन गर्न सजिलो हुने उनीहरूको अनुमान छ ।

 

६ पुस, काठमाडौं । 

२१ फागुनको चुनावमा सहभागी हुने संस्थागत निर्णय गरिसकेको नेपाली कांग्रेसको संस्थापन पक्ष भने प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जोडबल गरिरहेको छ । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरू प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए पार्टीको १५औँ महाधिवेशन सार्न र आन्तरिक किचलो व्यवस्थापन गर्न सजिलो हुने उनीहरूको अनुमान छ । यसका लागि तत्कालीन सांसदहरूको हस्ताक्षर संकलन जारी छ ।

अन्य साना दललाई समेत पुनर्स्थापनाको पक्षमा ल्याउन संस्थापन पक्षका नेताहरू संवादमा छन् । यद्यपि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरू भने पार्टी निर्णयबाट ब्याक हुन नहुने भन्दै आगामी चुनावमा जानुपर्ने पक्षमा छन् । २८ असोजदेखि १५ मंसिरसम्म बसेको केन्द्रीय समिति बैठकले वर्तमान राजनीतिको उचित निकास चुनाव नै भएको ठहर गर्दै चुनावमा भाग लिने निर्णय गरेको थियो । तर, सो निर्णयविपरीत कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित केही नेताले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै गत २१ मंसिरमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

जेनजी आन्दोलनपछि २७ भदौमा नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटन भएलगत्तै महामन्त्री थापालगायतले ताजा जनादेशमा जाने कुरालाई स्वागत गरेका थिए भने देउवा पक्षीय नेताहरूले पुनर्स्थापना गराउन सांसदहरूको हस्ताक्षर पनि संकलन थालेका थिए । तर, पार्टीभित्रै विरोध भएपछि हस्ताक्षर संकलन रोकिएको थियो । नेकपा एमालेले संस्थागत निर्णय गरेर प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै रिट दायर गरेको छ । पछिल्लो समय कांग्रेस–एमालेले बहुमत सांसदको हस्ताक्षरसहित पूरक निवेदन दिने तयारीसमेत गरेका छन् । एमालेका ७९ र कांग्रेसका ८८ गरी जम्मा १६७ जना तत्कालीन सांसदको हस्ताक्षर बुझाउने उनीहरूको तयारी छ । २७५ सदस्यीय सभामा बहुमत हुन १३८ सांसदको हस्ताक्षर आवश्यक पर्छ । तर, कांग्रेस महामन्त्रीद्वय गगन–विश्व पक्षधर सांसदहरूले हस्ताक्षर नगरेको अवस्थामा अन्य राजनीतिक दलहरूलाई पनि समावेश गराएर बहुमत जुटाइछाड्ने कसरतमा दुवै दल छन् । सोही विषयमा छलफल गर्न कांग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरू श्यामकुमार घिमिरे र महेश बर्तौलाबीच भेटवार्तासमेत भएको छ ।

पुनर्स्थापना भए प्रधानमन्त्री बन्ने देउवाको आस जेनजी आन्दोलनपछि पुराना दलहरूलाई आगामी चुनाव चुनौतीपूर्ण हुने देखिन्छ । वैकल्पिक शक्तिहरू पनि चुनावसम्ममा एकीकृत भएर मैदानमा आउने तयारीमा छन् । यसो हुँदा पहिलो निसानामा नै कांग्रेस र एमाले पर्ने उनीहरूको बुझाइ छ । निर्वाचनमा आउने जनमतका कारण सत्ता र शक्ति गुम्न सक्ने आकलन गरेका देउवाले पुनर्स्थापना भए केही समय सत्तामा रहन पाइने आस गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भए पहिलो दल हुनुको नाताले आगामी सरकारको नेतृत्व आफैँले पाउने आसमा देउवाले पुनर्स्थापनाको पक्षमा जोडबल गरिरहेको टिप्पणी पार्टीभित्रै हुने गरेको छ । यस्तै, सभापति देउवा पार्टी राजनीतिमा पनि सक्रिय भइरहेका छन् । पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि महाधिवेशनको मिति तोक्नदेखि पार्टीका अन्य गतिविधि मिलाउन देउवा आफैँ सक्रिय छन् । यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने, पार्टीको विवाद समाधानमा पहलकदमी लिने काम गरेका छन् । शनिबार पनि उनले महाधिवेशनदेखि पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिको विषयमा कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
मन्त्री घिसिङ र स्विस राजदूतबीच भेटवार्ता, ऊर्जा–पूर्वाधार क्षेत्रमा स्विस सहयोग निरन्तर रहने
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग
सामाजिक सञ्जाल विधेयकको उद्देश्य प्रष्ट्याउन माग
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
प्रहरी र राप्रपा नेता-कार्यकर्ताको घम्साघम्सी
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्या*न गयो, १४३ जना घाइते
ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ
रास्वपा सचिवालयको बैठक आज बस्दै
रास्वपा सचिवालयको बैठक आज बस्दै