सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
१ पुस, काठमाडौं ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा दुई वटा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । ईन्द्रावती गाउँपालिका–३ र वडा नम्बर ६ मा निर्माण गरिने स्वास्थ्य चौकी भवनको आज एक समारोहबीच शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल र भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा शिलान्यास गरे ।

भारत सरकारको करिब ४ करोड नेपाली रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुने यी स्वास्थ्य चौकी भवनहरू दुई तल्ले हुनेछन् । आवश्यक स्वास्थ्य सेवा प्रवाहका लागि उपयुक्त पूर्वाधार तथा सुविधासहित भवन निर्माण गरिने जनाइएको छ । यी परियोजनाहरू उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत अघि बढाइएका हुन्, जसको कार्यान्वयन गाउँपालिकामार्फत गरिनेछ । शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्षसहित स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूले भारत सरकारले निरन्तर रूपमा प्रदान गर्दै आएको विकास सहयोगप्रति प्रशंसा व्यक्त गरे । निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच थप सहज हुने विश्वास पनि व्यक्त गरिएको छ ।





Post Comment